साथीहरु तिहार मनाउन घरतिर गइरहेका थिए, म तालिम लिन विदेश हिँडेँ। सदाझैं विदेश यात्रा भनेपछि जाग्ने उत्साह यसपल्ट दोधारमा परेछ क्यारे! मनबाट दिमागसम्म आइपुगेन। दिदी-बहिनीको हातको टीका, साथीभाइसँगको जमघट इत्यादि कुराहरु विदेश यात्रा गर्न लागेको रोमाञ्चकताका अगाडि आएर ढसमस्स बसिदिन्थे।
_x000D_ _x000D_
तिहार फेरि आउँछ। नयाँ कुरा सिक्ने र नयाँ ठाउँ घुम्ने मौका यसैगरी फेरि नजुर्न सक्छ। यत्ति कुराले इन्डोनेसियाको बालीतिरका यात्रालाई राहत दिइरहेको थियो।
_x000D_ _x000D_
‘टोबाको कन्ट्रोल लिडरसिप प्रोगाम’ थियो। जोन हप्किन्स युनिभर्सिटीको इन्सिच्युट फर टोबाको कन्ट्रोल र द युनियनको आयोजना रहेको तालिममा एसिया प्यासिफिक क्षेत्रका देशका सरकारी, गैरसरकारी र सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागि थिए। युनिभर्सिटीको एसोसिएट साइन्टिस्ट स्टिभ ट्याम्पिलिन र टोबाको कन्ट्रोल लिडरसिप कार्यक्रमका लागि नाम चलेकी प्रशिक्षक एन्नेटे एम डेभिडसँग सात दिन सिक्न पाउनु आफैंमा एउटा ठूलो उपलब्धि थियो।
_x000D_ _x000D_
घुम्ने कि सिक्ने
_x000D_ विश्वका आकर्षक पर्यटकीय गन्तव्य मध्येको बाली घुम्न पाउने कुरा मेरा लागि चानचुने थिएन। तर, आयोजकको सेड्युलमा हरेक दिन ८:३० बजे तालिम हलमा छिर्नुपर्ने र ५ बजे मात्रै निस्किनुपर्ने उल्लेख थियो। त्यसैले दुईमध्ये एक छान्नुपर्ने भयो– घुम्ने कि सिक्ने!
_x000D_ _x000D_
विश्वका विभिन्न देशमा भइरहने यस्ता कार्यक्रममा नेपाली सहभागीले पहिलो विकल्प रोज्दा रहेछन्- घुम्ने। विदेश पुगेको अनुभव भएका स्वास्थ्य मन्त्रालयका केही कर्मचारीबाट सल्लाह माग्दा घुम्ने विकल्पमा टिक लगाइदिएका थिए। मलाई यो कार्यक्रमका लागि छान्ने एक्सन नेपालका आनन्द चन्दले भनेका थिए, ‘यस्तो तालिममा तपाईं पहिले पनि एकपल्ट सहभागी भइसक्नुभएको छ। यसपालि केही थप जान्न र नयाँ देश हेर्न पनि जाँदै हुनुहुन्छ।’
_x000D_ _x000D_
चन्द सरले भनेको सही हो। म यसअघि नेपालमै भएको यस्तै प्रकारको एक कार्यक्रममा सहभागी भइसकेको थिएँ। यसरी भन्दा मनासिब हुन्छ, सहभागी मात्रै भएको थिएँ। केही सिक्नलाई त बुझ्नुपर्छ। बुझ्नलाई सिकाउने मान्छेले बोल्ने भाषा जान्नुपर्छ। त्यो समय मेरो अंग्रेजी भाषाको स्तर अहिले आफैंले सम्झिँदा पनि अत्यास लाग्ने खालको थियो। त्यो समय एउटा सामान्य चित्रको वर्णन अंग्रेजीमा भाषामा गर्न खोज्दा एसीको जाडोमा आएको पसिना अहिलेसम्म भुलेको छैन।
_x000D_ _x000D_
हाम्रो नाक बढ्छ, इन्डोनेसियनको कान
_x000D_ अन्तत: मैले ‘सिक्ने’ विकल्प रोजेँ।
_x000D_ _x000D_
प्रशिक्षक एटेन्ने एम डेभिड दोस्रोपल्ट भेट्दा खुसी भइन्। कार्यक्रमभरि मैले सिक्नका लागि देखाएको सक्रियताको उनले दोस्रो दिन चिया पिउने क्रममा प्रशंसा गरिन्। मैले उनलाई भनिदिएँ, ‘अघिल्लोपल्ट तपाईंले मुख चलाएको मात्रै देखेको थिएँ। यसपल्ट बोलेको पनि सुनिरहेको छु।’ मैले आफूलाई आफैंले गिज्याएको देखेर उनी मज्जाले हाँसिन्।
_x000D_ _x000D_
डेभिडको प्रशिक्षण चुनौती विरुद्ध कसरी डट्नुपर्छ भन्नेमा केन्द्रित थियो। मुख्य थिम हुन्थ्यो– सेभेन टाइम्स डाउन, एट टाइम्स अप, नेभर गिभअप (सातपल्ट लड, आठपल्ट जाग, कहिल्यै नभाग)। त्यही दोहोर्याइन्। मन ढक्क फुलेर आयो। प्रशिक्षण क्रममा अल्बर्ट आइन्स्टाइनको एउटा भनाइको सहारा लिँदै जुन तहबाट समस्या सिर्जना भइरहेको छ, त्यही तहबाट समाधान हुँदैन, फरक तरिकाले सोच्नुपर्छ भन्ने कुराको सहज व्याख्या गरिदिइन्।
_x000D_ _x000D_
सूर्तीजन्य पदार्थले स्वास्थ्यमा पुर्याइरहेको हानि महसुस गरेर यसविरुद्ध अभियानमा जुटेका विभिन्न देशका योद्धाका लागि साँच्चै ‘मोटिभेसन’ थियो। उनको प्रशिक्षण हाम्रा लागि ठूलो ऊर्जाको स्रोत थियो।
_x000D_ _x000D_
_x000D_ _x000D_
डा बम बायाँबाट पहिलो
_x000D_ _x000D_
_x000D_
विश्व प्रसिद्ध प्रशिक्षकसँगै तालिम दिने एक जना नेपाली (डा तारा सिंह बम) पनि पाउँदा हामी तीन जना (सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, स्वास्थ्य मन्त्रालय- स्वास्थ्य सूचना केन्द्रका सूर्तीजन्य पदार्थ नियन्त्रण शाखा प्रमुख डा भक्त केसी र म) को नाकको साइज अझै बढ्यो। (इन्डोनेसियन भने यसरी गर्व गर्नुपर्दा ‘कान ठूलो भयो’ भन्दा रहेछन्)। एक सहृदयी इन्डोनेसियाली जसलाई मैले ‘माइला दाइ’ नाम राखेर आएँ। उनको प्रशंसा गर्दा उनले नाक ठूलो भन्नुको सट्टा कान ठूलो भयो भनेका थिए।
_x000D_ _x000D_
इन्डोनेसियाली मादे, नेपाली माइला दाइ
_x000D_ माइला दाइको प्रसंग यहीँनेर जोडिहालौं। उनी सहयोगी, रमाइला र विद्वान् इन्डोनेसियन युवा हुन्। पेसाले इन्डोनेसियाको उदयना युनिभर्सिटीका एसोसिएट प्रोफेसर। उनको सहयोगी भावनाले ‘नेपाली सहयोगी हुन्छौं’ भन्ने अभिमान लुत्रुक्कै पारेको थियो। रमाइला पनि त्यत्तिकै उनी। कार्यक्रममा उनको एउटा प्रस्तुति थियो। प्रस्तुतिको सुरुवातमा उनले आफ्नै नाममाथि ठट्टा गरे। उनको नाम थियो– I made kerta duana. उनले भने, ‘अंग्रेजीमा भन्दा मैले बनाएको केर्ता दुयना हुन्छ। केर्ता दुयना मेरो नाम त हो तर मैले बनाएको भन्न खोजिएको होइन।’ इन्डोनेसियन भाषामा ‘आई’को अर्थ पुरुष हुँदो रहेछ। त्यसपछि एमएडिई ‘मेड’ नभई ‘मादे’ उच्चारण हुन्छ। मादेको अर्थ माइला हुँदो रहेछ।
_x000D_ _x000D_
_x000D_ _x000D_
मादे, दायाँपट्टि
_x000D_ _x000D_
_x000D_
यिनै सहयोगी व्यक्तित्वको सहयोगले सिक्ने अवसर नछोडी घुम्ने अवसरसमेत प्राप्त भयो। उनले हामीलाई सहयोग गर्न नहिचकिचाउनुमा इन्डोनेसियालीमाझ डा तारा सिंह बमको छवि महत्वपूर्ण छ।
_x000D_ _x000D_
डा सिंह सूर्तीजन्य पदार्थ नियन्त्रणमा आफ्नै जीवन दाउमा राखेर लडिरहेका विश्वका एक योद्धामा गनिन्छन्। यसैमा लागिरहेको संस्था द युनियन दक्षिण एसिया क्षेत्रका उपनिर्देशक भएर काम गरिरहेका छन् उनी।
_x000D_ _x000D_
देह व्यापारीले प्रस्टै चिन्छन् नेपाली
_x000D_ इन्डोनेसियाका बौद्धिक वर्गमा डा तारासिंह बमले छाडेको छापले छातीभरि फैलिएको मुटु रात्रिकालीन बाली हेर्दा भने नराम्ररी खुम्चियो।
_x000D_ _x000D_
बालीको समुद्री किनारमा रहेको एक होटलमा हाम्रो बासको व्यवस्था आयोजकले मिलाएको थियो। उक्त होटलको कम्पाउन्ड कट्नेबित्तिकै कपाल पालेका एक इन्डोनेसियाली युवकले हामीलाई पछ्याए। हामी नजिक पुग्नेबित्तिकै उनले भने, 'फ्रेन्ड्स, यु फ्रम नेपाल? हामीले मुखामुख गर्यौं, कसरी चिन्यो भनेर! उसले हाम्रो जवाफ नकुरी अफर गर्यो, 'लरकी (लड्की), आई ह्याभ भेरी ब्युटिफल गर्ल (मसँग सुन्दर केटी छन्)।' हामी ‘नो नो’ भन्दै छड्कियौं। ऊ केके भनिरहेको थियो।
_x000D_ _x000D_
झन्डै १० मिटरको दुरीमा अर्को आइलाग्यो फेरि, 'यु आर फ्रम नेपाल' भन्दै।
_x000D_ _x000D_
_x000D_ _x000D_
त्यो दिन मात्रै होइन, दोस्रो वा तेस्रो दिन निस्किँदा पनि केटी-दलाल वा ग्राहक खोजिरहेका कति युवतीले ‘यु आर फ्रम नेपाल’ भनिरहे। कतिले चाहिँ बंगलादेश वा इन्डिया पनि भने। यति झेलेपछि हामीले अनुमान लगायौं– धेरै नेपालीहरु यहाँ घुम्न आउने रहेछन्। देहभोग समेत उनीहरुको घुम्ने उद्देश्यमा पर्दो रहेछ। किनभने अनुहार हेरेर दलाल र देह व्यापारीहरुले नेपाली चिन्न थालिसकेका छन्!
_x000D_ _x000D_
हामी नेपाली हौं
_x000D_ तर, होटल वा इन्डोनेसियाका अरु मान्छेहरुले भने नेपालीलाई पनि इन्डियन सम्झिँदा रहेछन्। हामी रहेको होटल ग्रान्ड इन्ना कुता होटेलका एक वेटर हामीलाई इन्डियन सम्झिँदा रहेछन्। त्यही अनुरुप व्यवहार गरिरहेका थिए। जेसुकै सम्झोस् भनेर हामीले नजरअन्दाज गर्यौं। तर, डा बम भने हरेक कुरामा असाध्यै संवेदनशील।
_x000D_ _x000D_
एक साँझ उनीसँगै हामी डिनरका लागि बाहिर निस्किँदा वेटरले नमस्कार गरे। डा बमले उनलाई अंग्रेजीमा भने, 'तिमीले हामीलाई भारतीय सम्झिरहेका छौ हो?
_x000D_ _x000D_
उनले ‘हो’ भने। डा बमले इन्डियन नभएर नेपाली रहेको भन्दै स्पष्ट पारे। फेरि दोस्रो दिन पनि ती वेटर नमस्कार गर्न आए। डा बमले फेरि सोधे, ‘तिमीले हामीलाई इन्डियन नै सम्झिरहेका छौ?’ अकमकाउँदै उनले भने, ‘नेपाली’।
_x000D_ _x000D_
त्यसपछि मैले भनेँ, ‘दाइ, यो मान्छेले अब नेपाली भन्ने शब्द यो जुनीभरि नबिर्सिने भयो।’
_x000D_ _x000D_
मन्दिर जस्ता घर, बाटैभरि देवता
_x000D_ आफू जाने देशभर धेरथोर ज्ञान लिइरहनुपर्छ भन्ने मलाई थाहा थियो। त्यसैले विकिपेडियाबाट इन्डोनेसियाबारे केही जानकारी लिएको थिएँ। धार्मिक अवस्थाबारे बुझ्दा ८७ प्रतिशत मुस्लिम र १.६ प्रतिशत मात्रै हिन्दु भेटेको थिएँ। जब म देनपसार एअरपोर्टबाट ओर्लेर बालीतिर लागेँ, हरेकर घर मन्दिर जस्ता देखिए। प्यागोडा शैलीको प्रयोग मन्दिरदेखि घरसम्म। हरेक चोकमा देवीदेवता, महाभारतका विभिन्न पात्रका मूर्ति। हरेक पार्क वा महत्वपूर्ण स्थलको गेट पनि कुनै मन्दिरमा पस्ने गेटजस्तै।
_x000D_ _x000D_
_x000D_ _x000D_
मैले ट्याक्सी ड्राइभरलाई यसबारे जिज्ञासा राखेँ। उनले इन्डोनेसियामा मुस्लिम बाहुल्य भए पनि बालीमा भने हिन्दु धर्मावलम्बी ८० प्रतिशत रहेको जानकारी दिए। उनले आफ्ना हातमा बाँधेको पहेँलो, रातो र कालो रङका तीन डोरी देखाउँदै भने, 'वैष्णवा, ब्रह्मा र शिवा।'
_x000D_ _x000D_
परदेशमा आफ्नो संस्कृति अपनाउने व्यक्ति भेटिँदा त्यसै आँत भरिएर आयो। अघिसम्मको अपरिचित इन्डोनेसियाली अहिले आफ्नै आफन्त जस्तो लाग्न थाल्यो।
_x000D_ _x000D_
म हिन्दु धर्मावलम्बी त हुँ। पूजाआजाका लागि मन्दिर पुगेको घटना सम्झिन मलाई मुस्किल छ। तर, बालीको माहोलले मन्दिरसम्मको यात्रामा डोर्यायो। त्यहाँको प्रसिद्ध जू र मन्दिरमध्ये एक छान्दा मैले मन्दिर छानेँ। बालीको उत्तर पश्चिममा रहेको ताना लट मन्दिर धार्मिक रुपमा मात्रै होइन, प्राकृतिक बनोट र सुन्दरताका कारण पनि धेरै पर्यटकको गन्तव्यमा पर्दो रहेछ। समुद्र किनारमा रहेको चट्टानको ढिस्कोमा मन्दिर छ। मन्दिरको तीन भागमा लगभग पूरै र एकभागमा केही मात्रामा मात्रै सुमुद्रको छाल आइपुग्छ।
_x000D_ _x000D_
_x000D_ _x000D_
समुद्री देवताको मन्दिर मानिन्छ यो। त्यसको प्राकृतिक संरचनाले त्यहाँ पुग्ने हरेकलाई उक्त मन्दिरमा एक प्रकारको ‘शक्ति’ रहेको महसुस हुन्छ। जुनसुकै धर्मावलम्बी भए पनि मन्दिरको फेदमा रहेको देवताको मन्दिर ढोग्ने र पुजारीबाट अक्षता फूल ग्रहण गर्ने गर्दा रहेछन्। नागरिकता, पासपोर्ट वा कुनै फाराम भर्दा मात्रै ‘हिन्दु’ लेख्ने म पनि पहिलोपल्ट देवता दर्शनका लागि लामो लाइनको पुछारमा उभिएँ। मूर्तिको मुखबाट पानी झर्ने व्यवस्था मिलाइएको थियो। माथि लेखिएको थियो– होली स्प्रिङ वाटर। समुद्र किनारका चट्टानको ढिस्कोबाट खस्ने उक्त पानी नुनिलो होला भन्ने मेरो अनुमान फेल खायो। जब मैले धाराबाट झरेझैं झरिरहेको उक्त पानी एक अञ्जुली थापेर मुखमा राखेँ। त्यसपछि लाग्यो– देवता भए पनि वा नभए पनि प्रकृतिसँग साँच्चिकै अपार शक्ति छ!
_x000D_ _x000D_
नतालिया नेपाली
_x000D_ हामी मन्दिरबाट फर्किंदै थियौं। एक अपरिचित अधबैंसे विदेशी महिलाले हामीतिर संकेत गर्दै रोकिन आग्रह गरिन्। उनले भनिन्, ‘आई लभ नेपाल!’
_x000D_ _x000D_
ओहो! कसरी चिनिन् त हामीलाई? मनमा यति कुरा खेल्न नपाउँदै मैले र मसँगै गएका सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले लगाएको ढाकाटोपी सम्झेँ। उनीसँग भलाकुसारी गर्न थाल्यौं। उनी क्यानेडियन नागरिक रहिछन्। उनको क्यानडामा ट्राभल एजेन्सी रहेछ।
_x000D_ _x000D_
_x000D_ _x000D_
नेपालका हिमालप्रेमी उनी पटकपटक नेपाल आएकी रहिछन्। गत सेप्टेम्बरसम्म पनि आफू नेपालमै रहेको बताउँदै हामीसँग तस्बिर खिच्ने इच्छा जाहेर गरिन्। उनले फोटो क्याप्सन पनि जुराइन्– नतालिया एन्ड नेपाली। मैले ठट्टा गरेँ, 'होइन, नतालिया नेपाली।'
_x000D_ _x000D_
परम्पराप्रति बालियन युवाको प्रतिबद्धता
_x000D_ त्यही साँझ रात्रिकालीन बालीको रौनक नियाल्न म र डा भक्त केसी नजिकैको बजारमा टहलिन निस्कियौं। बजारको बीचमा इन्डोनेसियन परम्परागत बाजा गुन्जिइरहेको थियो। उत्सुकता जाग्यो– मन्दिरको झैं लाग्ने गेटबाट भित्र नियालेको त हाम्रो लाखेनाच चलिरहेको रहेछ। त्यसको एकापट्टि देवीका रुपमा युवती र अर्कोपट्टि दानवको रुपका युवाहरु बसेका रहेछन्। मास्क र पहिरनले तस्बिरमा देखिने देवी-दानव जस्ता लाग्ने उनीहरुबीच नाचिरहेको सिंह आकारको आकृति हेरिरहेका थिए। दानव बनेका मध्ये एक युवालाई सँगै तस्बिर खिचाउने इच्छा व्यक्त गरेँ। उनले हार्दिकतापूर्वक छेउमा बस्न आग्रह गरे। मैलाई उनलाई थप सोधेँ, ‘के हो यो ?’ उनले अंग्रेजीमा भने, 'बारुङ डान्स।'
_x000D_ _x000D_
_x000D_ _x000D_
आफ्नो परम्परा, संस्कृति र धर्मप्रति नयाँ पुस्ता पनि उत्तिकै कटिबद्ध रहेको उनले हामीलाई बताए। मुस्लिम बाहुल्य देशमा परम्परागत हिन्दु धर्मको अस्तित्वका लागि उनीहरु डटिरहेका रहेछन्। धर्मभन्दा बढी उनीहरुलाई आफ्नो संस्कृति र परम्परा लोप हुनेमा छ। त्यसैले बालीमा देवीदेवता र रामायणका पात्रका ठूलाठूला मूर्ति बनाइएका छन्। त्यहाँ रहेका मन्दिर जगेर्ना गरिएका छन्।
_x000D_ _x000D_
बियर ओपनर!
_x000D_ बालीको सबै बजार, मन्दिर परिसरका पसल र सुपरमार्केटमा पाइने विभिन्न भेराइटीका सामग्रीमा एउटा भेटिन्छ– काठको पुरुष जनेन्द्रीय। जता पुग्यो, त्यतै यही भेटेपछि मनमा कौतुहल त बढ्नै नै भयो।
_x000D_ _x000D_
_x000D_ _x000D_
मनै थाम्न नसकेर एक ठाउँमा आफूले किन्न चाहेको बताउँदै त्यसको उपादेयताबारे सोधेँ। उसले भन्यो, 'बियर ओपनर। हो त्यसको माथिल्लो भागमा बियर ओपनर जडित थियो। म चाहन्थेँ, उसले यसको परम्परागत, संस्कृति वा धार्मिक कथा भनिदेओस्।
_x000D_ _x000D_
उसले हिन्दु धर्मावलम्बीले पूजा गर्ने शिवलिंग रहेको बतायो। सुरुमा काठ वा ढुंगाको मूर्ति बनाएर पुजिन्थ्यो। पछि शुभसंकेतका रुपमा यसलाई सानो आकारमा बनाउँदै बोक्न थालियो।
_x000D_ _x000D_
बजारीकरणको दुनियाँमा ‘शिवलिंग’ यतिमै सीमित रहन पाएन। गैर हिन्दु धर्मालम्बीलाई बिक्री गर्न बियर ओपनर, चाबी झुन्ड्याउने 'कि रिङ' र किचनका उपयोगी कुरा जोडेर बेच्न थालियो।
_x000D_ _x000D_
एयरपोर्टमा सरकारी एट्टिच्युड
_x000D_ दाइ डा तारासिंह बम र इन्डोनेसियाली ‘माइला दाइ’ मादेको सहयोगले हामीले सिक्ने मौका नगुमाई बालीमा घुम्ने मौका पनि पायौं। सिकाइ र घुमाइको मिठो याद बोकेर क्वालालम्पुर एयरपोर्ट आइपुगेपछि बालीमै पुगेर फर्केका तीन नेपाली भेटिए। परदेशमा नेपाली भेट्दा नचिनेको भए पनि आत्मीयता हुने नै भयो।
_x000D_ _x000D_
बोलचाल भयो। नेपाल सरकारकै कर्मचारी रहेछन्। तीमध्ये एक सरकारकै एक कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका थिए। ट्रान्जिटमा कुरिरहँदा उनले कुनै सचिवका नाम लिँदै उसलाई ‘जागिरका लागि पहिलो नियुक्ति’ मैले दिएको भन्दै धक्कु लगाए। सचिव भइसकेको व्यक्तिलाई नियुक्ति दिएका यी व्यक्ति आफू भने अझै सचिवभन्दा मुन्तिरकै पदमा रहेछन्।
_x000D_ _x000D_
सुरुदेखि नै ‘एट्टिच्युड’ देखाइरहेका उनीसँग मलाई बोल्न मन नलागेकाले त्यति बोलिनँ। मसँगै गएका दुई जना सरहरु बोलिरहेका थिए। यही क्रममा एयरपोर्टबाट आफू सरकारी गाडीमा सानले आफ्नो घर जाने कुरा प्रस्तुत गर्न थाले। गाडीको एउटा चाबी आफूसँग रहेको र ड्राइभरले दिउँसो नै एअरपोर्टमा गाडी छाडेर हिँडेको बेलीविस्तार लगाए। न यो कुरा सुन्न जरुरी थियो कसैले, न उनले सुनाउन। तैपनि उनले सुनाए, हामीले सुन्यौं।
_x000D_ _x000D_
_x000D_ _x000D_
मनमा केही जिज्ञासा उब्जिइरहे– शनिबारको दिन भएकाले ड्राइभरलाई सरकारी गाडी एअरपोर्टमा छाड्न लगाउनु सरकारी सेवकको कत्तिको नैतिकवान् काम होला! सरकारले कार्यालय प्रयोजनका लागि दिएको गाडी बिदाको समयमा प्रयोग गर्नु कसरी ‘सान’को कुरा भयो!
_x000D_ _x000D_
बलजफ्ती नेपाली
_x000D_ उनीसँग अर्का एक भलाद्मी थिए। त्यति बोलेनन्। उनीहरुसँगै हामी काठमाडौं आउने प्लेनका लागि ‘चेक इन’ लाइनमा लाग्यौं। ती भलाद्मीले क्वालालम्पुर एयरपोर्टमा देखाइहाले भलाद्मीपन। उनले ‘ह्यान्ड क्यारी’का रुपमा एउटा सुटकेस बोकेका थिए। सुटकेसको तौल जाँच्दा ह्यान्ड क्यारीका रुपमा बोक्न पाउने ७ किलोभन्दा नाघ्यो। ‘चेक इन’मा रहेकी महिला सुरक्षाकर्मीले बढी तौल भएकाले सुटकेस ‘ह्यान्ड क्यारी’का रुपमा लिन नपाइने विनम्र भाषामा अनुरोध गरिन्। बलजफ्ती गर्ने हामी नेपालीको बानी कहाँ जान्थ्यो र? ती महाशय त ह्यान्ड क्यारीकै रुपमा लिन पाउनुपर्ने अडानमा पो बसे। उनकै पछि लाइन लागेको म नेपाली पासपोर्टधारी लाजले रातोपिरो भएँ। उनले अड्डी कसेपछि ती महिलाले चर्को स्वरमा भनिन्, ‘यो क्वालालम्पुर एअरपोर्ट हो। यहाँ नियमविपरीत केही पनि हुँदैन।’ उक्त सुटकेस अन्य लगेजतिरै धकेलेर मलाई बोलाइन्। म फटाफट भित्र गएँ। पछि ती महाशय सुटकेस उतै छाडेर लुरुलुरु फर्किए।
_x000D_ _x000D_
त्यहीबेला पाँच दिनसम्म पढाउने गुरु एन्नेट्टे डेभिडको भनाइ सम्झेँ– सेभन टाइम डाउन एट टाइम अप, नेभर गिभअप।
_x000D_ _x000D_
यो नियम यस्तो परिस्थितिमा लागू गर्यो भने चाहिँ माथिकै महाशयको हालत बेहोर्नुपर्छ। अर्थात्, सुटकेससँगै अलिकति भएको इज्जत पनि अरुको जिम्मा लगाएर हिँड्नुपर्छ!
_x000D_ _x000D_
जीवन जिउने मामलामा चाहिँ सबैले अपनाउनुपर्छ– सेभेन टाइम डाउन, एट टाइम अप, नेभर गिभअप!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।