काठमाडौँ- नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ। आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् तिहारको पहिलो दिन- काग तिहार।
कात्तिक १ गते बुधबार कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, २ गते कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, ३ गते कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्द्धन पूजा, कृषक पूजा तथा नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३८ र म्हपूजा अर्थात् आत्मपूजा मनाइन्छ। कात्तिक ४ गते शनिबार कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ।
यमपञ्चकको पहिलो दिन आज कागलाई मिठोमिठो खाना चढाएर काग तिहार मनाइँदैछ। वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ। आजको दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। वैदिक सनातन हिन्दु धर्मानुसार कागलाई यमदुत मानिन्छ। कागलाई खानेकुरा चढाउने (बलि दिने) शास्त्रीय मान्यता भए पनि पूजा गर्ने प्रसंग कतै नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।
आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ। 'तिहारमा काग, कुकुर, गाई, गोवर्द्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मिठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि छ,' उनले भने।
यस वर्ष कात्तिक ४ गते बिहान ११ बजेर ५१ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।