काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्यरत नायब सुब्बा राजेन्द्र खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
खत्रीले अंगभंग मुद्दाको थुनछेकका क्रममा सेवाग्राहीलाई त्रासमा पारी काम मिलाइदिने प्रयोजनाका लागि एक लाख २५ हजार रुपैयाँ घुस माग्दामाग्दै केही दिनअघि समातिएका थिए। आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
यस्तै, आन्तरिक राजस्व कार्यालय जनकपुरका कम्प्युटर अपरेटर रामकिशोर महतो ३२ हजार घुस रकमसहित पक्राउ परेका छन्। उक्त कार्यालयमा दर्ता भएको पसल बन्द गर्न सेवाग्राहीले निवेदन दिएपछि उनले घुस मागेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले उनलाई सो रकमसहित रंगेहात पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।