सिमरा- पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र संघीयताविरुद्ध षड्यन्त्र भएको बताएका छन्। आइतबार जितपुर सिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीमा आयोजित सभामा बोल्दै प्रचण्डले भने, 'हिजो संविधान बन्न नदिन, संघीयता हुन नदिन, स्थानीय तह बन्न नदिन ठूलै षड्यन्त्र भइरहेको थियो। तर, माओवादीको नेतृत्वमा ती षड्यन्त्र असफल भए।' उनले चुनौतीका बीच आफू चुनावमा आएको बताएका थिए। उनले यस्ता षड्यन्त्र परास्त गर्न अबका चुनावमा माओवादीलाई जिताउन आग्रह गरे।
कार्यक्रममा एमाले नेता एवं नागरिक मञ्चका अध्यक्ष विनोद चौधरीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी १ सय ५० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
सिंहदरबारका कारिन्दा छान्ने होइनः बादल
बारा- माओवादी केन्द्रका नेता रामबहादुर थापा 'बादल'ले अहिलेको निर्वाचन सिंहदरबारका कारिन्दा जिताउने निर्वाचन नभएको बताएका छन्। बाराको कोल्हबीमा आयोजित सभामा नेता बादलले भने, 'कतिपयले अहिलेको निर्वाचनलाई २० वर्षपछि हुन लागेको निर्वाचन भन्छन्। तर, त्यो सत्य होइन। इतिहासमै पहिलोपटक भएको निर्वाचन हो। चुनाव त पञ्चायतकाल र बहुदलकालमा पनि भए। तर, ती निर्वाचन सिंहदरबारका कारिन्दा जिताउने निर्वाचन थिए। तिनलाई खास कुनै अधिकार थिएन।'
उनले थपे, 'अहिलेको निर्वाचन जनताका प्रतिनिधि बनाउने निर्वाचन हो। जनताले आफ्नो सरकार गठन गर्ने निर्वाचन हो। जनताको अदालत र संसद बनाउने निर्वाचन हो, यसलाई सामान्य उपलब्धि ठान्नु हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।