काठमाडौँ- काठमाडौँ महानगरपालिकाको रु एक करोड लागतमा ठमेल क्षेत्रभित्रको एक किलोमिटर सडक कालोपत्र गर्ने काम सुरु गरेको छ।
महानगरपालिको सहयोगमा कामनपा–२६ ले ठमेल क्षेत्रको मनाङ होटलदेखि काठमाडौँ गेष्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्मको सडक कालोपत्रको काम सुरु गरेको हो।
सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम थालेको कामनपा–२६ वडाका अध्यक्ष ख्यामराज तिवारीले बताए। 'चाँडै नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यका साथ कालोपत्र गर्ने कामलाई तीव्रता दिएका हौँ,' अध्यक्ष तिवारीले भने।
केही महिना अगाडिदेखि नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रुपमा विकास गर्नका लागि महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेलका पर्यटन व्यवसायीबीच छलफल हुँदै आएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।