राराताल, मुगु – 'रारा पर्यटन वर्ष घोषणा भएको ६ महिना नाघिसकेको छ। तर, कर्णाली सरकारले उद्घाटन कार्यक्रम बाहेक भ्रमण वर्षलक्षित कुनै पनि औपचारिक कार्यक्रम हालसम्म गर्न सकेको छैन।
_x000D_
_x000D_

_x000D_
_x000D_
न त रारासम्म पुग्ने सहज सडक सुविधा छ, न त रारामा पुगिसकेपछि आवश्यक न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्ने साधन नै। तर, सुर्खेतस्थित अनमोल स्मृति प्रतिष्ठानले यसै साता एकल प्रयासमा रारा साहित्यक तथा सांस्कृतिक महोत्सव सम्पन्न गरेको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
गएको सोमबार र मंगलबार गरी २ दिन दिनसम्म चलेको महोत्सवमा आवश्यक सबै स्रोतसाधन सुर्खेतबाटै लगिएको थियो।
_x000D_
_x000D_
‘दिवंगत छोरा भेट्न रारा’
_x000D_
प्राकृतिक सुन्दरताले भरिपूर्ण भएपनि विकट जिल्ला मुगुको रारा छायाँनाथ नगरपालिकामा अवस्थित रारा किनारमा महोत्सव आयोजना गरेर जोखिम मोलेको प्रतिष्ठानका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक निराजन शाहीले बताए। कर्णाली प्रदेशको समृद्धिका लागि घोषणा गरिएको भ्रमण वर्षलाई सघाउन महोत्सव आयोजना गरिएको उनले स्पष्ट पारे।
_x000D_
_x000D_

_x000D_
_x000D_
‘कर्णाली सरकारले एक वर्षमा १ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गर्यो। सोही घोषणालाई सफल बनाउन अनमोल स्मृति प्रतिष्ठानले सरकारलाई सघाएको मात्र हो’, उनले भने, महोत्सवमा नेपालभरका पर्यटक रारामा ल्याउन सफल भएका छौं।’
_x000D_
_x000D_

_x000D_
_x000D_
रारालाई ‘स्वर्गकी अप्सरा’को रुपमा चिनिँदै आएको बताउँदै अध्यक्ष शाहीले अकालमै ज्यान गुमाएका आफ्ना नाबालक छोरालाई भेट्न आफू रारा आएको सुनाए। भने, ‘म मेरो अनमोल भेट्न स्वर्ग अर्थात् रारा आएको हुँ। र मलाई यो बताइरहँदा खुसी लागिरहेको छ की अनमोलमार्फत धेरैले रारामा पाइला टेक्न पाउनु भएको छ।’
_x000D_
_x000D_
रारा पुग्ने सडक अब कालोपत्रे : परियार
_x000D_
उता महोत्सवको उद्घाटन गर्न प्रदेश राजधानी सुर्खेतबाट रारा पुगेका मुगुका प्रदेश सांसद दानसिंह परियारले रारासम्म पुग्ने बाटो कालोपत्रे गर्ने घोषणा गरे। ‘प्रदेश सांसदको रुपमा आफ्नो कार्यकालभर रारासम्म पुग्ने बाटो कालोपत्रे हुनेछ।’
_x000D_
_x000D_
सांसद परियारले राराको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि प्रत्येक वर्ष रारा किनारमा कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धतासमेत जनाए। उनले राराको विकासमा आवश्यक बजेट विनियोजन गर्न प्रदेश तथा केन्द्र सरकारलाई पनि आग्रह गरे।
_x000D_
_x000D_
गाउँपालिका प्रमुखको रुपमा उत्कृष्ट कार्यसम्पादन गरेबापत कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमलाई सम्मान गरिएको थियो। सम्मानपश्चात् संक्षिप्त मन्तव्य राख्दै अध्यक्ष बमले स्वर्गमा पाइला टेकिरहेको अनुभूति भएको बताए। उनले भने, ‘स्वर्गजस्तै रारामा सम्मानित हुन पाउँदा निकै खुसी छु। तर, यहाँसम्म आउने सडक र विकासलाई लिएर भने मन पिरोलिरहेको छ।’
_x000D_
_x000D_
परदेशीको पीडादेखि सांसदलाई प्रश्नसम्मका गीत
_x000D_
महोत्सवको अवलोकनका लागि सयौंको संख्यामा मुगुबासी जनता उपस्थित भएका थिए। महोत्सवमा राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकार, कवि तथा गजलकारहरुको उपस्थिति रहेको थियो।
_x000D_
कार्यक्रमको पहिलो प्रस्तुतिको रुपमा सहआयोजक राष्ट्रिय लोक तथा लोक दोहोरी गीत प्रतिष्ठान सुर्खेत शाखाको तर्फबाट गायक कविराज गिरीलगायतको टोलीले ‘बनेको छ पहराले यो छाती मेरो’ बोलको गीत प्रस्तुत गर्यो।
_x000D_
_x000D_

_x000D_
_x000D_
प्रकाश सपुतको शब्द तथा लय संकलनमा रहेको भाका ‘बोल माया’ गाउन प्रतिष्ठानकै गायिका अन्जली सापकोटा मञ्चमा उक्लिन्। अन्जलीले परदेश गएको परिवारको सदस्य गुमाउँदाको पीडा समेटिएको गीत प्रस्तुत गर्दा रारा तालको किनार एकाएक शान्त बनेको थियो। यस्तो लाग्थ्यो हावाको तीव्र गतिसँगै उछाल्लिएको रारा किनार केहीबेर आराम गरिरहेको छ।
_x000D_
_x000D_
कार्यक्रममा प्रतिष्ठानका कलाकारले सोरठी, कौडा, टप्पालगायतका मौलिक लोकभाकामा नृत्यसमेत प्रस्तुत गरेका थिए। कृष्ण रेउलेको संकलनमा रहेको टप्पा भाकामार्फत गायक चन्द्र शर्माले रारालाई यसरी सम्झिए-
_x000D_
_x000D_
रारा तालको आँगनीमा टप्पा गीत गाउँला
_x000D_
तपाईं हामी भेट्ने मौका फेरी कहिले आउला?
_x000D_
_x000D_
लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रहेका शर्माले दोस्रो गीत गाउँदा पनि मुगालीले नाचेर साथ दिएका थिए। नेत्र अर्यालको शब्द तथा खेम सेन्चुरीको संगीतमा रहेको झ्याउरे भाका ‘बाच्छीले धान खायो’ गाइरहँदा घमाइलो मौसममा रारा किनारमा बसिरहेका मुगालीहरु एकएक गर्दै नाचेका देखिन्थे।
_x000D_
_x000D_

_x000D_
_x000D_
त्यसपछि पालो आयो देउडा गीतको। देउडा भाकाको उद्गम स्थान मानिने कर्णालीमा यसको महत्व विराट छ। त्यसमाथि यस्ता गीतमा भेटिने वजनदार लोक साहित्यले आम जनमानसको आवाज बोलेको हुन्छ। त्यसकारण पनि परदेशिएका प्यारालाई फर्किन आग्रह गर्दै गायिका सुनिता कुमारी बिसीले देउडा गाइरहँदा दर्शकको राम्रो साथ पाइन्।
_x000D_
_x000D_
ए परदेशी बाज फर्की आइजा घर
_x000D_
फूलजसो जोवन मेरो छाडी कइका भर
_x000D_
_x000D_
फर्कि आइजा ए परदेशी वनपाखा डुलुलाँ
_x000D_
सँगै बसी दिन बिताउँला दुःख पीर भुलुँला।
_x000D_
_x000D_
दिन ढल्किँदै जाँदा रारा किनारमा हावाको वेग पनि उत्तिकै मात्रामा बढिरहेको थियो। रारामा उर्लिएको छालजस्तै राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुति दिइरहँदा दर्शकहरु पनि उत्तिकै रोमाञ्चित देखिन्थे। सोही क्रममा सालैजो भाकासहित गायक राजु ढकाल मञ्चमा देखा परे। गायक ढकालले
_x000D_
_x000D_
पल्टनैबाट छुट्टीमा आको सालैजो सम्झेर गाउँघर
_x000D_
रमाइलो गरौं रारामा आज सालैजो नबसे है पर
_x000D_
_x000D_
पल्टनमा नि आइरनी झल्को
_x000D_
तिमीले चोली लाएको मलमलको
_x000D_
_x000D_
गीत गाउन सुरु गरेलगत्तै दर्शकको बीचको कुर्सीमा बसेका प्रमुख अतिथि परियार एकाएक मञ्चतर्फ अगाडि बढे र गायक ढकालसँगै कम्मर मर्काउन थाले। आफैंले भोट हालेर जिताएका सांसद नै नाच्न कस्सिएको देख्दा कतिपय मुगालीको अनुहारमा चमक थपिएको थियो भने कतिपय सांसदसँगै नाच्नमै मस्त देखिन्थे।
_x000D_
_x000D_
सांस्कृतिक कार्यक्रमको अन्तिम खण्डमा मात्रै मञ्चमा उक्लिएका गायक कृष्ण रेउलेले गीतमार्फत नै सांसदहरुलाई मुगालीका लागि सुखको दिन कहिले आउँछ भनी प्रश्न गर्न भ्याए।
_x000D_
_x000D_
सांसदज्यू नी आउनु भाछ खुसी भाछ मन
_x000D_
रारा तालको विकासमा केके गर्छौ भन?
_x000D_
_x000D_
कुर्सीकै खेल भइरहन्छ जहिले
_x000D_
मुगालीलाई हसाउनी हौ कहिले?
_x000D_
_x000D_
‘कविता सुनिकन रुवाई लाग्यो’
_x000D_
_x000D_
सांस्कृतिक कार्यक्रमको अन्त्यसँगै मञ्चमा दौरा, सुरवाल र कोटमा ठाँट्टिएर कवि नवराज पराजुली उभिए। रारालाई पृष्ठभूमिमा पारी तयार पारिएको मञ्चमा कवि पराजुलीले तीन कविता सुनाउन भ्याए।
_x000D_
_x000D_
छाउपडीले गाँजेको समाजमा सोही विषयवस्तुमा लेखिएको कविता ‘ब्रह्माजीको रजश्वला’ प्रस्तुत गरिरहँदा उपस्थित धेरै किशोरीको अनुहारमा कविको जस्तै प्रश्न चिन्ह उब्जिएको महशुस हुन्थ्यो। कवि पराजुलीले कविता सुनाइरहँदा पृष्ठभूमिमा रन्जन गायकले विभिन्न बाजामार्फत धुन भरेर सघाएका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
कतिपय मुगालीका लागि कविता के हो भन्ने पनि जानकारीमा थिएन। त्यसमाथि कविता कन्सर्ट उनीहरुका लागि विशुद्ध नौलो स्वाद थियो। मुगुको रारा छायाँनाथ नगरपालिका-७, टोब्लाबाट महोत्सव हेर्न भनी आएकी ६२ वर्षीया कमला बुढाले पहिलो पटक कविता सुनेको बताइन्। ‘हामी कविता जान्नैनौं, हामीकन को सिकाउन्या हो?, उनले भनिन्, ‘आज कविता सुनिकन रुवाई लाग्यो।’
_x000D_
_x000D_

_x000D_
_x000D_
कवि पराजुलीले अन्तिम कविताका रुपमा ‘हेप्पी बर्थ डे’ शीर्षकको कविता सुनाए।
_x000D_
_x000D_
दिनभरी घरमा कोही नभएको दिन म तिमीलाई सम्झिन्छु
_x000D_
रातभरी घरभरी सबै भएको दिन म तिमीलाई सम्झिन्छु
_x000D_
_x000D_
म छु जस्तो लागेको दिन तिमीलाई सम्झिन्छु
_x000D_
मर्छु जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु
_x000D_
_x000D_
सर्पले काँचुली बिर्सिएको दिन म तिमीलाई सम्झिन्छु
_x000D_
काचुँलीले सर्पलाई बिर्सिएको दिन म तिमीलाई सम्झिन्छु
_x000D_
_x000D_
साच्चै भन त छोरा आज तिम्रो जन्मदिनमा
_x000D_
के तिमीले मलाई सम्झियौ?
_x000D_
_x000D_
छोराको जन्मदिनमा आमाले दिएको शुभकामनालाई अनुभूतिपरक शैलीमा लेखिएको कविता सुन्दा केही बेरअघिसम्म लोकदोहोरी गीतमा आवाज मिसाइरहेका कलाकारहरु नै आवाजशून्य भएका थिए। टिलपिल आँखा देखाउन अप्ठेरो मानेर उनीहरु घोप्टो परेर आँशु पुछिरहेको देखिन्थ्यो। पहिलोपटक कविता सुनेका भएपनि कतिपय मुगालीका लागि सायद कविताको अनुभूति गहिरोसँग छापिएको अनुभूत हुन्थ्यो।
_x000D_
_x000D_
आगो ताप्दै गजल श्रवण
_x000D_
घाम रहँदासम्म तराईको जस्तै न्यानो भइरहने रारा किनार साँझ परे लगत्तै एकाएक चिसिन्थ्यो। प्रकाशका किरणसँगै छिनछिनमा फरक देखिने राराको पानीजस्तै यहाँको मौसममा आउने परिवर्तन पनि नयाँ थिएन। तर, त्यही फरकपनमा न्यानो प्रदान गर्न साँझ ढल्किएसँगै गजल महफिलले बल प्रदान गर्यो।
_x000D_
_x000D_

_x000D_
_x000D_
डाँफे होटलको आँगनको डिलमा लस्करै पलेंटीमा बसिरहेका थिए चार गजलकार, ईश्वर दाहाल(धनकुटा), हुकुम धड्कन(कोहलपुर), संगीता थापा(मकवानपुर) र महेन्द्र चन्द महासागर(दैलेख)। डिलमुनि दुवैतर्फ धुनी जगाएर बसेका श्रोताहरु चोटिला सेरहरु सुनाइरहँदा जोसिलो पारामा ‘वाह-वाह’ भनिरहेका थिए।
_x000D_
_x000D_
म उडेको नजिकबाट देख्नलाई मात्र भए पनि
_x000D_
मेरा गोडा काट्नेलाई अग्लो घर चाहिन्छ। (ईश्वर दाहाल)
_x000D_
_x000D_
कायर कायर नै रहन्छ सिंहासनमा बसे पनि
_x000D_
बादशाह धुलोमै बसे पनि बादशाह हुन्छ। (हुकुम धड्कन)
_x000D_
_x000D_
म भाग्यमानी मैन केकमा बालिएको
_x000D_
तिम्रो जन्मदिनमा निभ्ने अवसर पायो। (संगीता थापा)
_x000D_
_x000D_
यो कस्तो विश्वास गर्न सिकायौ तिमीले
_x000D_
आफैं मरेको खबरमा पनि विश्वास हुन्छ। (महेन्द्र चन्द महासागर)
_x000D_
_x000D_
चार गजलकारका वजनदार गजल सुनेपछि कथाकार महेशविक्रम शाह र लोकदोहोरी गायक चन्द्र शर्माले अनौपचारिक रुपमा आफ्ना केही शेर सुनाए। शाह छेउमै बसेका कवि पराजुली तथा महोत्सव संयोजक शाही चोटिला शेरलाई पुनः दोहोर्याएर सुनाउन हो मा हो मिलाइरहेका थिए। देउडा नृत्यका लागि तयार भएका कालीकोटे र मुगालीहरुमा पनि कुनै हतार देखिँदैनथ्यो। तीन चरणमा भएको कार्यक्रममा प्रत्येक गजलकारले ५/५ वटा गजल सुनाएका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
गजल वाचनपश्चात् राति अबेरसम्म धुनी जगाउँदै देउडा नृत्य प्रस्तुत गरिएको थियो। विशेष गरी कर्णाली क्षेत्रभन्दा बाहिरबाट गएका पर्यटकहरुका लागि देउडा सिक्ने र सँगै नाच्ने महत्वपूर्ण अवसर पनि थियो त्यो।
_x000D_
_x000D_
काठमाडौंबाट रारा घुम्न गएका सुजन गोपालीले पहिलो पटक देउडा नाच्ने अवसर पाएको बताए। भने, ‘गौरा पर्वका अवसरमा काठमाडौंमा धेरैपटक देउडा नाचेको देखियो। टिभीमा हेरिन्थ्यो पनि। तर, यसपटक रारामै आएर देउडा नाच्न पाइयो।’
_x000D_
_x000D_
देउडासँगै पहिलो दिनको कार्यक्रम सकिएको थियो। दोस्रो दिन पनि विभिन्न सांस्कृतिक प्रस्तुतिका साथै सहयोगी, उपस्थित कलाकार तथा सर्जकलाई मायाको चिनो प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।