नेपालगन्ज– नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको मासु नेपालगन्ज भन्सार कार्यालयले सीमाबाट नियन्त्रणमा लिएको छ। भारतको दिल्लीबाट भित्र्याइँदै गरेको १५ टन मासुसहित एन ५२४० नम्वरको ट्रक पनि भन्सारले नियन्त्रणमा लिएको छ।
चालकले मकै, मटर र आलुको फिंगर चिप्सको कागजपत्र देखाएपछि शंका लागेर भन्सार कार्यालयका कर्मचारीले ट्रक चेकजाँच गर्दा ठूलो परिणाममा हाडरहित मासु फेला पारेको हो।
कन्टेनरलाई मकै र मटरले छोपिएको थियो। उक्त कागजपत्र नेपालगन्जको डिके कोल्डरुम एन्ड मिट सप्लायर्सको नाममा छ। उक्त सप्लार्यस धम्बोझीमा दिलिप सोनीको नाममा सञ्चालनमा छ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले नियन्त्रणमा लिएको मासुको नमूना परीक्षणका लागि पशु क्वारेन्टाइन नेपालगन्जमा पठाइएको जानकारी दिए। नेपालगन्ज क्वारेन्टाइनले मासु चेकजाँच गर्ने प्रविधि नहुँदा उक्त मासुलाई काठमाडौँ पठाएको जनाएको छ।

चेकजाचका लागी काठमाडौ पठाउन तयार मासुको नमुना
परीक्षण भएर रिपोर्ट नआउँदासम्म गाडी र मासुलाई भन्सार कार्यालयमै राखिने भन्सार कार्यालयका सूचना अधिकारी सुभासप्रसाद श्रेष्ठले जानकारी दिए। श्रेष्ठले गैरकानुनी प्रमाणित भए भन्सार ऐनअनुसार कारबाही गरिने बताए।
उनका अनुसार मासु बंगुर, माछा, कुखुरा र खसीको हुनसक्ने आशंका गरिएको छ। मासुको ४ वटा अलग-अलग नमूना काठमाडौँ पठाइएको हो। मासु सहितको ट्रक शनिबार बिहानै दिल्लीबाट नेपालगन्ज भन्सार कार्यालयमा पुगेको भए पनि आइबार साँझ मात्रै कारबाही प्रक्रिया अघि बढाइएको थियो।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ अनुसार पैठारीकर्ताले पशु, पशु जन्य पदार्थ वा पशुउत्पादन सामग्रीमा तोकिएबमोजिक संक्रामक रोग नभएको प्रमाण पत्र र स्वच्छता सम्बन्धी प्रमाणपत्र उपलब्ध नगराएमा कारबाही हुनेछ।
क्वारेन्टाइन अधिकृतले प्रवेश गर्न रोक लगाइएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री भएमा जुन मुलुकबाट ल्याइएको हो सोही मुलुकमा फिर्ता लैजान आदेश दिन सक्ने ऐनमा उल्लेख रहेको बताए। साथै, त्यस्तो सामग्रीले संक्रामक रोग फैलन सक्ने सम्भावना देखिएमा क्वारेन्टाइन अधिकृतले हटाउने वा नष्ट गर्ने आदेश पनि दिन सक्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।