विरानगर– विराटनगर महानगरपालिकाले नगरभित्र छोडिएका छाडा चौपाया नियन्त्रण अभियान शुरु गरेको छ।
सडकमा सवारी सञ्चालनलाई सुरिक्षत गर्न नगरभित्र छाडा छोडिएका चौपाया नगर रक्षकले नियन्त्रणमा लिन थालेका हुन्।
असोजको सुरुवातदेखि नै अभियान सञ्चालन गरेर छाडा चौपाया नियन्त्रणमा लिन थालेको महानगरपालिकाले जनाएको छ। महानगरभित्र गाई, बाख्रा, सुंगुर र साँडे छाडा छोडने गरिएको छ। विराटनगर महानगरपालिकाको साँघुरा सडकमा सिटी रिक्सा, रिक्सा तथा अन्य सवारीसाधन सञ्चालनमा छाडा चौपायाका कारणा बाधा हुने गरेको छ। यसले सडक जाम हुनुका साथै दुर्घटनासमेत निम्त्याउने गरेको महानगरपालिकाले जनाएको छ।
यसरी नियन्त्रणमा लिएका छाडा चौपायालाई वडा समितिको सिफारिसमा खसीबाख्रालाई २ सय ५० र गाईवस्तुलाई ५ सय रुपैयाँ जरिवाना लिएर छाड्ने गरिएको छ भने पटकेलाई १ हजार रुपैयाँ जरिवाना लिने गरेको महानगरपालिकाले जनाएको छ।
हालसम्म छाडा छोडिएका ३२ वटा गाई-बाछा तथा २८ वटा खसी बाख्रा नियन्त्रणमा लिएको महानगरपालिकाका नगर सहायक निरीक्षक रेवत दुलालले बताए। महानगरापलिकाको अभियानका कारण छाडा पशु छोड्ने क्रम कम हुँदै गएको उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।