पोखरा– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र पार्टीका नेतामाथि आक्रमण गर्न उक्साउने व्यक्तिहरूलाई समेत निर्वाचनमा उम्मेदवार बनाइएको आरोप लगाएका छन् ।
शनिबार कांग्रेसको देउवा पक्षीय गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो निवासमा आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिने व्यक्तिहरूलाई टिकट दिइएको दाबी गरेका हुन् ।
सभापति गगन थापालाई लक्षित गर्दै देउवाले आफूलाई मार्नुपर्छ भन्ने अभिव्यक्ति दिने चार जनाले समेत निर्वाचनमा टिकट पाएको बताए ।
‘शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्नेहरूलाई टिकट दिइयो । अनि मलाई जसले मार्नुपर्छ भन्ने मान्छे चार जनालाई निर्वाचनमा टिकट दिइयो,’ उनले भने ।
आफूमाथि र पार्टीका अन्य नेतामाथि भएका आक्रमणका घटनापछाडिको योजनाबारे आफू जानकार रहेको उनको दाबी थियो । देशभर नेताहरूका घरमा आगजनी गर्ने र आफूहरूलाई मार्न खोज्ने गतिविधिमा संलग्नहरूको पहिचान भइसकेको पनि उनले बताए ।
देउवाले विशेष महाधिवेशनको औचित्यमाथि समेत प्रश्न उठाए । विगतमा सुवर्णशमशेर राणाले पार्टी सभापति हुँदा विशेष अधिवेशन गराएको स्मरण गर्दै उनले अहिलेको विशेष महाधिवेशन भने पार्टी कब्जा गर्ने उद्देश्यले षड्यन्त्रपूर्वक गरिएको आरोप लगाए ।
उनले त्यसविरुद्ध संघर्ष गर्नु आफ्नो कर्तव्य भएको जिकिर गरे । आफूमाथि भएको आक्रमणपछि उपचारका लागि सिंगापुर र हङकङ गएको बताउँदै देउवाले अहिले पूर्ण रूपमा स्वस्थ रहेको जानकारी दिए । नेपाली जनताको सद्भाव र शुभेच्छाका कारण आफू बाँचेको उनको भनाइ थियो ।
आफूले राजनीतिक जीवनमा धेरै उपलब्धि हासिल गरिसकेको उल्लेख गर्दै देउवाले अब आफ्नो प्राथमिकता लोकतन्त्र र गणतन्त्रलाई थप मजबुत बनाउनु रहेको बताए । ‘मैले धेरै पाइसकेँ । मैले जिन्दगीभर यो राष्ट्रको लागि, लोकतन्त्रका लागि समर्पण गर्नुबाहेक केही पनि छैन,’ उनले भने ।
आफू २०–२१ वर्ष जेल जीवन बिताएर प्रधानमन्त्रीसम्म बनेको स्मरण गर्दै उनले आफूलाई राजनीतिबाट अब व्यक्तिगत रूपमा केही प्राप्त गर्न बाँकी नरहेको पनि बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।