काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय चिनियाँ नागरिक जियानहुआ वाङ रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बुधबार नेपाल वायुसेवा निगमको उडानमार्फत हङकङबाट काठमाडौं आएका वाङलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गरिएको थियो।
सोही क्रममा उनले आफ्नो मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाइ ल्याएको सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ फेला परेको हो। चार थानमा रहेको उक्त पदार्थ प्लास्टिकको च्यापसहित १ किलो ८०३.७७ ग्राम रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उक्त पदार्थ फेला परेपछि प्रहरीले वाङलाई नियन्त्रणमा लिई बरामद गरेको थियो।
आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि उनलाई बरामद गरिएको पदार्थसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।