काठमाडौं– काठमाडौंको चोभारमा बन्न लागेको सुक्खा बन्दरगाह निर्माणमा स्थानीय व्यापारी–व्यवसायीले अवरोध सिर्जना गरेका छन्। अवरोधका कारण ठेक्का लागिसकेको आयोजना अघि बढाउन नसकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
_x000D_
_x000D_
आयोजनाको निर्माणको लागि एक चिनियाँ कम्पनीसँगको साझेदारीमा आशिष निर्माण कम्पनीले ठेक्का पाएको थियो। तर, स्थानीय व्यापारी–व्यवसायीले अनेक माग राखेर आयोजना अघि बढ्नै नदिएको मन्त्रालय बताउँछ।
_x000D_
_x000D_
५ जना व्यापारीले सिर्जना गरेको अवरोध
_x000D_
_x000D_
लामो समयदेखि सरकारी जग्गा हडपेर व्यापार–व्यवसाय गरिरहेका ती व्यापारीले आयोजना निर्माणमा अवरोध पुर्याएको मन्त्रालयका अधिकारीहरू बताउँछन्। त्यहाँ अहिले फनपार्क, कृषिफर्म, घर–टहरा लगायत सञ्चालित छन्। ‘त्यहाँका स्थानीय करिब ५ जना व्यवसायीले निर्माण अघि बढाउन नदिने माहोल बनाइरहेका छन्,’ मन्त्रालयका एक अधिकारीले भने।
_x000D_
_x000D_
गत साउनमै इन्टरमोडल यातायात विकास समितिले उक्त आयोजनाको सिलान्यास गर्ने कार्यक्रम तय गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीबाट आयोजनाको शिलान्यास गर्ने उक्त कार्यक्रम अन्तिम समयमा रद्ध गरिएको थियो।
_x000D_
_x000D_
‘अवरोध नभएको भए आयोजनाको काम निकै अघि बढिसक्थ्यो,’ मन्त्रालयका ती अधिकारीले भने।
_x000D_
_x000D_
यस्ता छन् बन्दरगाहका विशेषता
_x000D_
_x000D_
विश्व बैंकको २ अर्ब १८ करोड रुपैयाँ आर्थिक सहायतामा उक्त बन्दरगाह निर्माण गर्न लागिएको हो। यो बन्दरगाह अन्तर्राष्ट्रियस्तरको हुने मन्त्रालयको भनाइ छ।
_x000D_
_x000D_
आयोजनाले ओगट्ने क्षेत्रफल २ सय ३२ रोपनी छ। जसमा १ सय ७२ रोपनीमा आयोजनाको मुख्य भाग, २५ रोपनीमा अतिरिक्त भाग, २५ रोपनीमा समितिको कार्यालय, २० दशमलव ८ रोपनीमा क्वार्टर क्षेत्र र शून्य दशमलव ५ रोपनीमा पानी संकलन केन्द्र बन्नेछ।
_x000D_
_x000D_
बन्दरगाहमा पहुँचमार्ग, कन्टेनर ग्राउन्ड सल्ट, एक्जिमको क्षेत्र र डोमेस्टिकको क्षेत्रका सुविधा रहनेछन्।
_x000D_
_x000D_
उक्त सुक्खा बन्दरगाहमा गोदाम, प्रशासनिक भवन, खुला जाँच क्षेत्र, जाँच्ने स्टेसन, सामान लोड–अनलोड, चालक तथा कामदारका लागि शौचालय, विद्युत सव–स्टेसन तथा बत्ती कक्ष, मर्मत सामग्री कक्ष, सुरक्षा निकाय बस्ने भवन, सवारी नापतौल र नियन्त्रण कक्ष, कर्मचारी–भन्सार प्रमुख कक्ष, आवास भवन र समितिको भवन रहनेछन्।
_x000D_
_x000D_
५ हजार १ सय ३० वर्गमिटरको पार्किङ क्षेत्र, भूमिगत पानी भण्डारण, पम्प हाउस र अग्नि नियन्त्रक कक्ष, खानेपानी तथा ढल निकास, ढल प्रशोधन केन्द्र, बत्तीको व्यवस्था, सुरक्षा तथा उद्धार कक्ष, हरियाली तथा भू–दृष्य, फोहोरमैला व्यवस्थापन र पर्खाल घेरा र प्रवेशद्वार पनि उक्त बन्दरगाह क्षेत्रमा रहनेछन्।
_x000D_
_x000D_
यस्ता फाइदा हुनेछन्
_x000D_
_x000D_
यो बन्दगाह निर्माण भए भारतीय बन्दरगाहबाट लोड भएका मालवस्तु सिधै काठमाडौं आइपुग्नेछन्। हाल भारतबाट आएका मालवस्तु वीरगञ्जको सुक्खा बन्दरगाहमा अनलोड गरेरमात्र ट्रक–ट्यांकरबाट काठमाडौं ल्याइन्छ। ‘चोभारको सुक्खा बन्दरगाह बनेको खण्डमा मानौं कोलकत्ताबाट लोड भएको वस्तु छ भने सिधै काठमाडौं आइपुग्छ,’ मन्त्रालयका सहसचिव रविशंकर सैंजु भन्छन्।
_x000D_
_x000D_
बन्दरगाह निर्माण सम्पन्न भए निकासी र पैठारी दुवैमा सहज हुनेछ। हाल ढुवानीमा ठूलो खर्च लागिरहेको अवस्थामा बन्दरगाह निर्माण भएपछि त्यस्तो ढुवानी लागत स्वात्तै घट्नेछ। जसले उपभोग्य वस्तुको लागतसमेत घट्नेछ।
_x000D_
_x000D_
फास्टट्रयाक, बाहिरी चक्रपथ लगायतका आयोजनासँग जोडिने हुनाले बन्दरगाह बन्दा चोभार तथा आसपासका क्षेत्र व्यापारिक केन्द्रको रुपमा विकास हुने विश्वास आयोजनाको छ।
_x000D_
_x000D_
सुक्खा बन्दरगाह निर्माणलगत्तै अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल पनि निर्माण गर्ने योजना सरकारको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।