काठमाडौं– काठमाडौं महानगरपालिकाले अविरल वर्षाका कारण फोहोर ढुवानी तथा विसर्जनमा समस्या उत्पन्न भएकाले केही समयका लागि घर, पसल तथा व्यवसायबाट फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले ल्यान्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेका कारण फोहोर ढुवानी तथा विसर्जनमा असहजता भएको जनाएको छ। वर्षाका कारण केही समय फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने भएकाले महानगरवासीलाई सम्भव भएसम्म फोहोर घर वा परिसरभित्रै सुरक्षित रूपमा राख्न आग्रह गरिएको छ।
महानगरपालिकाले फोहोर सडक, चोक, सार्वजनिक स्थान, खेलमैदान, खोला–नाला तथा अन्य खुला ठाउँमा नफाल्नसमेत अनुरोध गरेको छ। साथै, कुहिने र नकुहिने फोहोर छुट्याएर सुरक्षित रूपमा व्यवस्थापन गर्न आग्रह गरिएको छ।
सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत समस्या हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले आग्रह गरेको छ।
वर्षा र ल्यान्डफिल साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।