काठमाडौं– बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै गएपछि नेपालका पश्चिमी क्षेत्रमा वर्षा थप बढ्ने भएको छ। लगातारको वर्षाले नदी तथा खोलामा बहाव बढ्नुका साथै विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध भएका छन्।
मौसमविद् रोजन लामिछानेका अनुसार शनिबार पूर्वी क्षेत्रमा वर्षाको मात्रा केही घट्ने भए पनि पश्चिमी भूभागमा भने शुक्रबार रातिदेखि वर्षा बढ्नेछ। प्रणाली क्रमशः पश्चिमतर्फ सर्दै गएकाले सुदूरपश्चिमसम्मै वर्षा बढ्ने पूर्वानुमान छ।
मौसम पूर्वानुमान महाशाखाले बागमतीदेखि पूर्वका केही जिल्लालाई पहेँलो र गण्डकीदेखि पश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रलाई रातो संकेत दिएको छ। रातो संकेत भएका क्षेत्रमा बाढीपहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ।
३८ जिल्लामा उच्च जोखिम
बाढी पूर्वानुमान महाशाखाले आगामी दुई दिन साना नदी तथा खोलामा बहाव बढ्नुका साथै आकस्मिक बाढी आउन सक्ने जनाएको छ।
शुक्रबार गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको छ।
शनिबार जोखिम थप बढ्नेछ। नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।
आइतबारदेखि सातै प्रदेशका साना नदीमा समेत आकस्मिक बहाव बढ्न सक्ने पूर्वानुमान छ। सप्तकोशीमा पानीको सतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।