काठमाडौं – काठमाडौं उपत्यकाभित्रका नदी तथा खोलामा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले नदी किनारका करिडोरमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
ललितपुरको च्यासलस्थित पुलसमेत बाढीले छोएपछि उक्त पुलबाट आवतजावतमा रोक लगाइएको छ। जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालन गर्नुका साथै नदी किनारका सडकमा माइकिङ गरेर सावधानी अपनाउन आग्रह गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीका अनुसार खोला तथा नदीमा जलसतह बढेपछि तटीय क्षेत्रमा निगरानी बढाइएको छ। नदी किनारका सडकमा पार्किङ गरिएका सवारीसाधन हटाउनसमेत भनिएको उनले बताए।
‘काठमाडौंका खोला–नदीहरूमा जलसतह बढेपछि तटीय क्षेत्रहरूमा पनि निगरानी बढाइएको छ। करिडोरमा यात्रा नगर्न भन्दै माइकिङ गरिएको छ,’ सुवेदीले भने।
उनका अनुसार च्यासल पुललगायत जोखिमयुक्त स्थानमा प्रहरी खटाइएको छ।
मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भइरहेको छ। उक्त प्रणाली पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्दै गएकाले शुक्रबारदेखि पूर्वी जिल्लाको तुलनामा बागमतीदेखि पश्चिमतर्फका जिल्लामा बढी वर्षा हुने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।