काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको बुधबार साँझ निधन भएको छ। उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा उनको निधन भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिए।
८६ वर्षीय शर्मा सिन्धुलीको खुर्कोटमा जन्मिएका थिए। नेपालको प्राविधिक तथा उच्च शिक्षा क्षेत्रको विकासमा उनको महत्वपूर्ण योगदान रहेको छ।
शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापनापछि त्यसका पहिलो कार्यकारी निर्देशक बनेका थिए। काठमाडौं विश्वविद्यालय स्थापनाका क्रममा पनि उनी सक्रिय थिए। विश्वविद्यालय स्थापना भएपछि उनी संस्थापक उपकुलपति बने।
सन् १९९१ देखि २०१२ सम्म लगातार २१ वर्ष उनले काठमाडौं विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए। त्यस अवधिमा विश्वविद्यालयको शैक्षिक तथा संस्थागत विकासमा उनले नेतृत्व गरेका थिए।
उनी पछिल्लो समय पनि काठमाडौं विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा आबद्ध थिए।
शर्माले नेपाल, भारत र बेलायतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए। नेपालको उच्च शिक्षा तथा प्राविधिक शिक्षाको विकासमा लामो समय योगदान गरेका शर्माको निधनले शिक्षा क्षेत्रमा क्षति पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।