काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद)मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ।
हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा मङ्गलबार प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर्णय गरेको हो।
रसुवा जिल्लास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण त्यस क्षेत्रमा सञ्चालित जलविद्युत् केन्द्रहरूमा क्षति पुगी विद्युत् उत्पादन बन्द भएपछि आगामी हिउँदमा विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी थालिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा आयोजना व्यवस्थापन निर्देशनालय तथा प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक, विभिन्न विभागका प्रमुख तथा आयोजना प्रमुखहरूको सहभागिता थियो।
बैठकले हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक अध्ययन तथा कार्य अघि बढाउन बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई दैनिक कार्यप्रगति विवरण कार्यकारी निर्देशकसमक्ष पेस गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ।
बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले त्रिशूली नदी बेसिनका विद्युत् केन्द्रहरूबाट उत्पादन बन्द हुँदा विद्युत् माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि आगामी हिउँदमा लोडसेडिङ नहुने र गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। उनले विद्युत् आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी अहिलेबाटै अघि बढाइएको बताए। बैठकले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा निर्माणाधीन प्रसारण तथा वितरणतर्फका आयोजनाहरूको काम सम्पन्न गर्ने समयसीमा समेत तोकेको छ।
त्यसैगरी, बाढीबाट प्रभावित नुवाकोट र रसुवाको विद्युत् आपूर्तिलाई भरपर्दो बनाउन विभिन्न विकल्पबारे छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बाढीबाट क्षति पुगेको देवीघाट सबस्टेसन सञ्चालनमा ल्याउने सम्भावनाबारे स्थलगत अध्ययन गर्न टोलीसमेत परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।