काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक आज बिहान ९ बजे ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बस्ने छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रत्येक केन्द्रीय सदस्यले सुझाव दिने कार्यसूची छ। यसका लागि ३/३ मिनेट समय दिइएको छ। सोमबारदेखि सुरु भएको बैठक यही असोज ७ गतेसम्म सञ्चालन हुनेछ।
मंगलबारको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्। २९९ सदस्यीय केन्द्रीय कमिटीमा बोल्न चाहने सदस्यले हात उठाएर नाम टिपाएपछि बोल्ने समय दिइने र प्रत्येक वक्तालाई तीन मिनेटको समय निर्धारण गरिएको छ।
बैठकका लागि नौ वटा कार्यसूची तय गरिएको छ। अध्यक्षको प्रतिवेदनमाथि छलफलसँगै केन्द्रीय कमिटीमा मनोनयन, विभाग गठन, पोलिटब्युरो तथा स्थायी समिति गठन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च र अनुशासन आयोग गठनलगायत विषय बैठकका एजेन्डा छन्। समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल गर्ने कार्यसूचीसमेत रहेको छ।
बैठकको माइन्युट लेखनको जिम्मेवारी उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र गोकर्ण विष्ट तथा महासचिव शंकर पोखरेललाई दिइएको छ। बैठकमा उठ्ने विषय तथा बहसलाई व्यवस्थित रूपमा टिपोट गर्न योगेश भट्टराई, पद्मा अर्याल, सूर्य थापा, निरज आचार्य र खिमलाल भट्टराई सम्मिलित ‘बहस नोट कमिटी’ गठन गरिएको छ।
बैठकले राजनीतिक प्रतिवेदनमाथिको छलफलसँगै पार्टीको आगामी सांगठनिक संरचना र कार्यदिशासम्बन्धी निर्णय गर्ने एमालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।