काठमाडौं– जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी जारी गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
विभागका अनुसार उत्तर अण्डमान सागरमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भागमा पुगेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’मा परिणत भएको र पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्नेछ।
असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। मधेस, कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कर्णालीका केही स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम रहेको प्राधिकरणले जनाएको छ। जोखिमयुक्त सडकमा डोजर, एक्साभेटरलगायतका उपकरण तयारी अवस्थामा राख्न र जोखिममा रहेका परिवारलाई समयमै सुरक्षित स्थानमा सार्न पनि आग्रह गरिएको छ।
वर्षाका कारण नदीको बहाव बढ्नुका साथै कृषि, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ। हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहीलाई समेत सतर्क रहन आग्रह गरिएको छ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११४९, विपद्मा १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी १११४ मा सम्पर्क गर्न सकिनेछ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।