काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बालेनले भोटेकोशी बाढीपछिको दैनिक विवरण आफ्नो फेसबुक पोष्टबाट सार्वजनिक गर्न छोडेका छन् ।
गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट गरेको देखिन्छ । सरकारी सूचना आफ्नो निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गरेर आम्दानी गरेको आरोप उनीमाथि लागेको थियो ।
उनले नियमित विवरण दिन छोडे पनि आक्कलझुक्कल भोटेकोशी बाढीसँग जोडिएको पोष्ट भने गरेको देखिन्छ । भदौ १९ गते बालेनले बाढीबाट जोगिन के–के पूर्व तयारी गर्ने भनेर सचेतनामूलक पोष्ट गरेका थिए ।
यस्तै भदौ २० गते बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर १० बेत्रावतीबाट सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको भन्दै खोज र उद्धारमा अझै डटिरहेको जानकारी दिएका थिए ।
तर समग्र विवरण उनको पोष्टमा थिएन । यस्तै उनले भदौ २१ मा सुरक्षाकर्मीको प्रशंसा गर्दै पोष्ट गरेका छन् । भदौ २२ गते जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धारको विवरणमात्र सार्वजनिक गरेका छन् । त्यसयता भने उनले बाढीसम्बन्धी कुनै जानकारी राखेका छैनन् ।
बरु भदौ २३ गते जेन–जी लाई सम्बोधन गर्दै देशमा सुशासन कायम हुने लेखेका छन् भने उनको अन्तिम पोस्ट भदौ भदौ २८ गते अविनाश विक्रम शाह निर्देशित फिल्म ‘तिनीहरू (Elephants in the Fog)’ ९९औँ एकेडेमी अवार्ड्स (Oscars) का लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएकोमा बधाई तथा शुभकामना दिएका छन् । त्यसयता प्रधानमन्त्री शाहको सामाजिक सञ्जालमा कुनै पोष्ट छैन ।
भोटेकोशी बाढीमा परी आइतबारसम्मको रिपोर्टअनुसार १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।