काठमाडौं – चालू आर्थिक वर्षदेखि विद्युत् महसुलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनेबारे सहमति भएको छ ।
भ्याट कार्यान्वयनमा ल्याएको दुई महिनामै सरकारले खारेज गर्ने तयारी गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आइतबार भएको छलफलमा बिजुलीमा लगाएको भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भएको बताइएको छ ।
‘आइतबार ऊर्जामन्त्री र अर्थमन्त्रीबीच छलफल भएको थियो । उक्त छलफलमा विद्युत् महसुलमा लगाएको भ्याट हटाउने सहमति भएको छ’, ऊर्जा मन्त्रालय स्रोतले भन्यो ।
स्रोतका अनुसार भ्याट हटाउने प्रस्ताव अब बस्ने मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीले लैजाने भएका छन् । उक्त प्रस्ताव अनुसार मन्त्रीपरिषद् बैठकले निर्णय गरेपछि विद्युत् महसुलमा लगाएको भ्याट हट्नेछ ।
सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा अन्य ग्राहकका लागि १३ प्रतिशत भ्याट लगाएको थियो । जस अनुसार घरायसी ग्राहकले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्दा ५ प्रतिशत र अन्य ग्राहकले १३ प्रतिशत भ्याट तिर्दै आएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।