काठमाडौं– पृथ्वी राजमार्गको कृष्णभिरमा पटक–पटक हुने पहिरो र सडक अवरोधको दीर्घकालीन समाधान खोज्न सरकारले सुरुङ र भायोडक्ट निर्माणको विकल्पमा प्राविधिक अध्ययन सुरु गरेको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैशीले सोमबार पूर्वाधार विकास समितिको बैठकमा कृष्णभिरको जोखिम समाधानका लागि दुई विकल्पमा अध्ययन अघि बढाइएको जानकारी दिए।
उनका अनुसार कृष्णभिरको जोखिमयुक्त भाग छिचोल्न सुरुङ निर्माण गर्ने वा भिरको अगाडितर्फ पिल्लरमाथि भायोडक्ट बनाएर सडक जोड्ने विकल्पमाथि अध्ययन भइरहेको छ। करिब दुई महिनाभित्र प्राविधिक प्रतिवेदन तयार हुने र त्यसपछि निर्माणका लागि ठेक्का प्रक्रियामा जाने विभागको तयारी छ।
‘कृष्णभिरमा लङटर्मका लागि भित्रबाट टनेल खन्ने अथवा अगाडितिर भायोडक्ट बनाएर जोड्ने गरी स्टडी सुरु भइसकेको छ,’ जैशीले भने, ‘दुई महिनाजतिमा टेक्निकल रिपोर्ट आउँछ। त्यसपछि हामी ठेक्कामा जान्छौँ।’
कृष्णभिरमा पटक–पटक पहिरो जाँदा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध हुँदै आएको छ। गत भदौ १० गतेको भोटेकोशी–रसुवा बाढीपछि यो क्षेत्रमा सडकमा थप क्षति पुगेको थियो। भदौ १४ गते कृष्णभिर खण्डको सडकसमेत भत्किएको थियो।
हाल तत्कालीन व्यवस्थापनका लागि भत्किएको सडकको माथिबाट ट्र्याक खोलेर सवारी सञ्चालन गरिएको छ। दीर्घकालीन समाधानसँगै वैकल्पिक सडक निर्माणलाई पनि विभागले अघि बढाएको छ।
जैशीका अनुसार फिस्लिङ र बेनिघाटतर्फ पुलको पारिपट्टिबाट वैकल्पिक सडक लैजाने काम सुरु भइसकेको छ। फिस्लिङतर्फ करिब १.५ किलोमिटर भिर काट्ने काम भइरहेको छ।
वैकल्पिक मार्ग तयार भएपछि पृथ्वी राजमार्गको मुख्य खण्डमा पहिरो वा अन्य कारणले अवरोध आए पनि उक्त मार्गबाट तत्काल यातायात सञ्चालन गर्न सकिने विभागको अपेक्षा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।