काठमाडौं– नेकपा एमालेभित्र निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा तयार पारिएको एकीकृत प्रतिवेदन अब केन्द्रीय कमिटीमा छलफलका लागि जाने भएको छ।
सोमबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदनलाई औपचारिक रूपमा अघि बढाउँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। कार्यदलले करिब चार महिनाको छलफलपछि प्रतिवेदनलाई सर्वसम्मत रूपमा अन्तिम रूप दिएको थियो।
भट्टका अनुसार केन्द्रीय कमिटी बैठकका लागि अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनसहितका एजेन्डा तय गरिएको छ।
कार्यदलले तयार पारेको अन्तिम प्रतिवेदनमा नेतृत्व पुनर्गठनसँग सम्बन्धित विवादित विषयहरू समावेश गरिएको छैन। विभिन्न चरणमा तयार भएका प्रतिवेदन र सुझावलाई समेटेर मतभेद भएका विषय हटाउँदै साझा दस्तावेज तयार गरिएको एमालेले जनाएको छ।
कार्यदलको प्रतिवेदनलाई लिएर केन्द्रीय कमिटीमा केही नेताले पुनर्गठनका विषय उठाउने तयारी गरिरहेका छन्। यसबारे भट्टले केन्द्रीय कमिटी बैठकमा हुने छलफल र निर्णयका आधारमा पार्टीले आगामी प्रक्रिया अघि बढाउने बताए।
यसअघि कार्यदलभित्र फरक–फरक प्रतिवेदन तयार भएपछि त्यसलाई एकीकृत गरेर साझा प्रतिवेदन बनाइएको थियो। अहिले सोही प्रतिवेदन केन्द्रीय कमिटीमा छलफलका लागि लैजाने प्रक्रिया अघि बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।