काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुहरूको लगेज तथा व्यक्तिगत सामानको सुरक्षालाई थप प्रभावकारी बनाउन प्रहरीले विशेष सुरक्षा सतर्कता र निगरानी बढाएको छ।
नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै चोरी, हराउने र क्षति हुने घटनाको न्यूनीकरणका लागि थप कडाइ गरिएको जनाएको हो।
प्रहरीको निरन्तर सक्रियता र सम्बद्ध निकायहरूसँगको समन्वयका कारण पछिल्लो समय लगेज तथा सामान चोरी र हराउने घटनामा उल्लेख्य कमी आएको कार्यालयले जनाएको छ।
विमानस्थलभित्र लगेजको सामान चोरी वा हराउन नदिनका लागि जहाज र यात्रुको सामानको प्रत्यक्ष सम्पर्कमा आउने लोडर तथा क्लिनरहरूका लागि पकेटलेस (गोजी नभएको) पोसाक अनिवार्य गरिएको छ। साथै, सामान चोरी तथा हराउने कार्य रोक्न फिल्ड अधिकृतको कमाण्डमा दैनिक चेकजाँच र आकस्मिक निरीक्षण गर्ने व्यवस्था मिलाइएको छ।
ह्याण्ड क्यारीमा १०० ग्रामभन्दा बढी झोल पदार्थ, धारिलो वस्तु, ग्यासरलाइटर, फुलको बिरुवा तथा हरियो तरकारी लैजान मनाही गरिएको छ। कानुनले वर्जित गरेका हातहतियार वा लागू औषध फेला परेमा तत्काल कानुनी प्रक्रिया अघि बढाइनेछ।
यदि हवाई उडानमा वर्जित (तर कानुनले प्रतिबन्ध नगरेको) सामान फेला परेमा, प्रहरीले ४८ घण्टाभित्र आफन्तलाई बुझाउने व्यवस्था मिलाउनेछ। यस्तै, विदेश जाँदा लगेजको वजन बढी भएमा तत्काल कम उपयोगी सामान निकालेर आफन्त वा साथीभाइलाई फिर्ता दिने व्यवस्थामा पनि प्रहरीले सहयोग गर्नेछ।
विदेशबाट आउँदा लगेजको लक तोडिएको वा फुटेको भए प्रहरीको गुनासो व्यवस्थापन कक्ष र सम्बन्धित एयरलाइन्समा प्रक्रिया अघि बढाउन प्रहरीले अनुरोध गरेको छ। सामान हराएमा जाँच गरी अनुसन्धानमार्फत फिर्ता गराउन सहयोग गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।