काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको विवाद व्यक्ति, समूह वा पदको विषय नभई पार्टीको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न भएको बताएका छन् ।
सोमबार जारी विज्ञप्तिमार्फत १५औँ महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले सर्वोच्च अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विषय विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा अधिवेशन तथा महाधिवेशनको कार्यतालिका अघि बढाउनु उचित नहुने बताएका हुन् ।
उनले विशेष महाधिवेशनको नाममा थप विवाद सिर्जना नगरी कार्यतालिका स्थगन गरेर वार्ता र संवादमार्फत सहमति खोज्नुपर्ने वा सर्वोच्च अदालतको निर्णय पर्खनुपर्ने धारणा राखेका छन् ।
कोइरालाले निश्चित सर्त स्वीकार गरेपछि मात्रै पद व्यवस्थापन गर्ने वा राजनीतिक सहमतिको विकल्पका रूपमा पद बाँडफाँडलाई अघि सार्ने प्रवृत्तिले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कार कमजोर बनाउने दाबी गरेका छन् ।
‘नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन,’ उनले विज्ञप्तिमा भनेका छन् ।
उनका अनुसार कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले अघि बढाउने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्ने जोखिम बढाएको छ । त्यसैले कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नुपर्ने उनको जोड छ ।
कोइरालाले आश्विन ३ गतेदेखि विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन कांग्रेसका नेता–कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन् ।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि वडा हुँदै विभिन्न तहका अधिवेशनमा सक्रिय सहभागी हुन र मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन आग्रह गरेका छन् ।
कांग्रेसको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा रहेको उल्लेख गर्दै कोइरालाले विधि, विधान, वैधानिकता र एकताको बाटोबाट मात्रै पार्टीलाई पुनः सशक्त र विश्वसनीय बनाउन सकिने बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।