



काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा समावेश गर्ने सभापति गगन थापाको अध्यक्षतामा आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आह्वानलाई निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अस्वीकार गर्ने भएको छ।
देउवा निवास महाराजगञ्जमा सोमबार बसेको उनी पक्षीय नेताहरूको बैठकले यस्तो अडान राखेको हो। यसबारे जानकारी दिन सोमबार ४ बजे चुनदेवीमा पत्रकार सम्मेलन गरिने सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जानकारी दिएका छन्।
बिहानको छलफलमा शशांक कोइराला, नेताहरू प्रकाशशरण महत, एनपी साउदलगायतका नेता सहभागी थिए। छलफलपछि नेता महतले अनौपचारिक कुराकानी गरिएको संक्षिप्त जानकारी दिए।
नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समिति बैठक गरेर वडा अधिवेशनमा सहभागी भएका १४औँ महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई अहिलेको विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिमा समेट्ने निर्णय गरेको थियो। उक्त निर्णय अस्वीकार गर्ने रणनीति देउवा पक्षले लिएको छ।
उक्त पक्षले पूर्वमहामन्त्री शशांकको नेतृत्वमा १५औँ महाधिवेशन तयारी समिति बनाएर असोज १५ गते वडा अधिवेशन गर्ने गरी बेग्लै कार्यतालिका ल्याइसकेको छ। देउवाकै नेतृत्वमा महाधिवेशन हुनुपर्ने अडान यो पक्षको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष गगन नेतृत्वमै असोज ३ र ४ गते हुने कांग्रेसको वडा अधिवेशन प्रक्रियामा भाग लिन सकारात्मक भएको सन्दर्भमा देउवा पक्ष भने असहमत देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।