काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जन्मदिनमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सार्वजनिक रूपमा शुभकामना नदिएपछि दुई नेताबीचको सम्बन्धलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
आज रवि लामिछानेको जन्मदिन हो। सामाजिक सञ्जालमा उनलाई शुभकामना दिने क्रम चलिरहँदा प्रधानमन्त्री बालेनको फेसबुक पेजमा भने अहिलेसम्म रविलाई जन्मदिनको शुभकामना दिइएको पोस्ट देखिएको छैन।
यसैबीच बालेन निकट मानिने तथा रास्वपाभित्रका नेताकार्यकर्ताले रविलाई शुभकामना दिइरहेका छन्। सामाजिक सञ्जालमा ‘ह्याप्पी बर्थडे रवि दाइ’ भन्दै शुभकामना दिने क्रम चलिरहँदा प्रधानमन्त्री बालेनबाट सार्वजनिक शुभकामना नआउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यद्यपि, बालेनले व्यक्तिगत रूपमा फोन वा अन्य माध्यमबाट शुभकामना दिएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा पुष्टि भएको छैन। त्यसैले सामाजिक सञ्जालमा शुभकामना नआएकै आधारमा दुई नेताबीच सम्बन्ध बिग्रिएको निष्कर्ष निकाल्न सकिने अवस्था छैन।
तर पछिल्लो समय बालेन र रविबीच राजनीतिक दूरी बढ्दै गएको चर्चा भने रास्वपाको आन्तरिक राजनीतिमा चलिरहेको छ। पार्टी नेतृत्व, सरकार सञ्चालन तथा आगामी राजनीतिक दिशाका विषयमा दुई नेताबीचको सम्बन्ध कस्तो छ भन्ने चासो बढिरहेका बेला जन्मदिनको शुभकामनाको विषय पनि राजनीतिक चर्चाको नयाँ कारण बनेको हो।
रास्वपाको नेतृत्वमा रवि लामिछाने र सरकारको नेतृत्वमा बालेन्द्र शाह रहेका कारण यी दुई नेताबीचको सहकार्यलाई सरकार र पार्टी दुवैको स्थायित्वसँग जोडेर हेरिँदै आएको छ।
त्यसैले सामान्य शुभकामनाको विषय भए पनि रविको जन्मदिनमा बालेनको सार्वजनिक मौनता संयोग मात्रै हो वा बदलिँदो राजनीतिक समीकरणको संकेत ? भन्ने प्रश्न अहिले रास्वपाभित्र तथा बाहिर चर्चाको विषय बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।