काठमाडौं– बेलाबेला अभिव्यक्तिका कारण चर्चामा आइरहने गृहमन्त्री सुदन गुरुङले फेरि २०८२ भदौ २७ लाई स्मरण गर्दै एउटा मार्मिक स्टाटस लेखेका छन्।
उनले फेसबुक स्टाटसमार्फत जेन्जी आन्दोलनपछि नयाँ सरकार गठन भएको दिनलाई स्मरण गरेका छन्। उनले तस्बिरसहित सार्वजनिक गरेको स्टाटसमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएपछि ठूलो जिम्मेवारीको भारी बिसाएर हलुका भएको महसुस गरेको दाबी गरेका छन्।
उनले त्यस दिन देशले निकास पाएको जिकिर पनि गरेका छन्।
गुरुङले लेखेको स्टाटस हुबहु तल प्रस्तुत गरिएको छ।
भदौ २७ : ‘ऐतिहासिक दिन’
मनमा तत्कालीन नेता र राजनीतिप्रतिको विद्रोह र देशप्रतिको चिन्ता दुवै थियो।
भदौ २३ पछि देश सामान्य अवस्थामा थिएन। राजनीतिक नेतृत्वप्रतिको विश्वास भत्किएको थियो। पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन। नयाँ, अपरिचित र अपरिक्षित नेतृत्व छान्नु आफैँमा ठूलो चुनौती थियो। तीन दिनसम्म देश एउटै प्रश्नमा अडिएको थियो, देश कता जान्छ? अब कसले निकास दिन्छ? प्रधानमन्त्री को बन्दा सुरक्षित महसुस होला त?
राजनीतिक अन्योलता र पावर भ्याकुम थियो। कुनै पनि देश लामो समय शक्ति रिक्ततामा रहनु ठीक होइन। एउटा नागरिकका रूपमा मेरो मनमा एउटै कुरा थियो, देशले निकास पाउनुपर्छ। राज्य चल्नुपर्छ।
भदौ २३ को असाधारण घटनाले हामीलाई सामान्य राजनीतिक परिस्थितिभन्दा धेरै पर पुर्याइसकेको थियो। कहिलेकाहीँ इतिहासले यस्तो कठिन मोडमा उभ्याउँछ, जहाँ उपलब्ध कुनै पनि विकल्प पूर्ण हुँदैन, तर देशलाई अनिश्चिततामै छोड्नु पनि हुँदैन।
भदौ २७ मा देशलाई निकास दिन मेरो भागमा पनि जिम्मेवारी आयो। राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो, एक थोपा पानी र अन्न मुखमा परेको थिएन। ९ घण्टाको त्यो प्रतीक्षामा अन्योलता थियो, तर अडान पनि थियो कि आज देशलाई खाली हात फर्काउन हुँदैन। किनकि बाहिर सिंगो देश पर्खिरहेको थियो।
अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पायो। त्यो क्षणमा एउटा ठूलो जिम्मेवारीको भारी बिसाएर हलुका भएको महसुस भयो, देशले निकास पायो भन्ने अनुभूति भयो।
त्यो परिस्थिति हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, धेरै व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाले बनेको परिस्थिति थियो।
मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ।
त्यसैले भदौ २७ सम्झिँदा आज पनि मनमा एउटै भावना आउँछ, कठिन परिस्थितिमा देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।