काठमाडौं– पार्टी पुनर्गठनमा किचलो बढिरहेको बेला नेकपा एमालेद्वारा गठित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवासीय बैठक काभ्रेको एक रिसोर्टमा बसिरहेको छ।
बैठकमा कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा र कार्यदलका सदस्यसचिव एवं पार्टी महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भइरहेको छ। यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा संयोजक थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसारको छुट्टै प्रतिवेदन ल्याएपछि थप छलफल आवश्यक ठानिएको थियो।
थापाले महासचिव शंकर पोखरेलले अध्यक्षलाई हटाउने गरी प्रतिवेदन ल्याएको भन्दै समानान्तर अभ्यास थालेका थिए। त्यसपछि कार्यदलका सदस्य विष्णु पौडेल र उनीबीच नोकझोक चलेको थियो। उपाध्यक्ष पौडेलले पहिला एमाले बुझेर, एमाले भएर आउन चेतावनी दिएको बताइएको छ।
काभ्रेको बैठकले दुवै प्रतिवेदनमाथि छलफल गरी सोमबारसम्म एउटै प्रतिवेदन बनाउने तयारी गरिरहेको एमाले सूत्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।