काठमाडौं–कांग्रेसको संस्थापन पक्ष १५औं महाधिवेशनका लागि तयारी गरिरहेका बेला यता असन्तुष्ट पूर्व सभापति शेरबहादुर देउवा पक्ष पनि आफूले घोषणा गरेको मितिमा महाधिवेशन गर्नका लागि तयारीमा जुटेको छ ।
शनिबार देउवा पक्षले महाधिवेशन र तल्लो तहका अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सबै तहका जिम्मेवार साथीहरूलाई आवश्यक सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं।’ त्यस्तै क्रियाशील सदस्य र शुभेच्छुकहरूलाई पनि समर्थन र सहभागिता जनाउन अपिल गरिएको छ।
भदौ १७ र १८ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो। अधिवेशनहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहका तयारी समितिहरू गठन गर्ने समयसीमा पनि तोकिएको छ। जसअनुसार जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज ३ गतेभित्र गठन गरिसक्नुपर्नेछ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।