काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्ता र संवादलाई अघि बढाउन माग गरेका छन् ।
शुक्रबार २५ केन्द्रीय नेताहरूले सामूहिक अपिल जारी गर्दै संस्थापन र असन्तुष्ट समूहबाट आएको कार्यतालिका स्थगन गर्नुपर्ने माग गरेका हुन् ।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्दैछन्। कांग्रेसका नाममा १५ औं महाधिवेशन दुई वटा हुँदैछ।
त्यसैले नेताहरूले दुवै महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरेका छन्।
निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार निर्णायक वार्ताका लागि अपिल गरिएको हो।
‘पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवार निर्वाह गर्दै दुवै पक्षवाट जारी गरिएका १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताको लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौं,’ उनीहरूले सभापति गगन थापासमक्ष भनेका छन्।
निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, निवर्तमान केन्द्रीय सदस्य तथा गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सीताकुमारी राना, सरस्वती बजिमय, मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरूङ, शान्ति परियार विक, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौड्याल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, ईन्द्रबहादुर बानियाँ, अनिल रूंगाटालगायत नेताहरूले आज अपिल जारी गरेका हुन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।