काठमाडौं– नेपालमा शक्तिशाली मुलुकका राजदूतहरू हेरफेर भइरहेको छ।
नेपालका लागि युरोपेली युनियन (इयु) का नयाँ राजदूतले कार्यभार सम्हालेको एक सातामै अमेरिकाले केही दिनअघि नेपालका लागि कार्यवाहक राजदूत पठाएको छ। यस्तै, भारतले पनि नयाँ राजदूत पठाउने तयारी गरिरहेको बुझिएको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेकाले भारतले छिट्टै नयाँ राजदूत पठाउने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले नेपाललाइभलाई जानकारी दियो।
२०७९ जेठ ३ मा नेपालको राजदूतमा नियुक्त श्रीवास्तव छिट्टै स्वदेश फर्कन लागेको दूतावास सूत्रले जनाएको छ। कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्यदूतको जिम्मेवारी सम्हालिसकेका उनलाई नेपाल पठाइएको थियो। तत्कालीन राजदूत विनयमोहन क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेपछि भारतले श्रीवास्तवलाई नेपाल खटाएको थियो।
भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवको कार्यकालमा नेपाल–भारत सम्बन्धमा सहजीकरण गरेको बताइन्छ।
यसअघि अमेरिकाले नेपालस्थित अमेरिकी कार्यवाहक राजदूतका रूपमा खटाएकी मेगन बोल्डिन यही भदौ २३ गते काठमाडौं आएकी थिइन्। काठमाडौं आउनुअघि बंगलादेशको ढाकास्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा बोल्डिनले सन् २०२४ को अगस्टदेखि सेवा गरेकी थिइन्।
अमेरिकी कार्यवाहक राजदूत नेपालका लागि युरोपेली युनियन (इयु) का नयाँ राजदूत आएको एक सातामै काठमाडौं आएकी थिइन्।
यही भदौ १६ गते काठमाडौं आएर इयुका नयाँ राजदूत चाल्र्स ह्वाइटलीले कार्यभार सम्हालिसकेका थिए। तीनवर्षे कार्यकालका लागि आएका उनी यसअघि बंगलादेशका लागि राजदूतका रूपमा कार्यरत थिए। सन् २०२१ देखि २०२४ सम्म बंगलादेशका राजदूत रहेका उनी अगस्ट २०२४ देखि युरोपेली बाह्य कार्य सेवाको दक्षिण एसिया महाशाखा प्रमुखका रूपमा कार्यरत थिए।
उनले इन्डोनेसिया, अमेरिका, हङकङ, मकाउलगायतका देशमा पनि काम गरिसकेका छन्।
यसअघि शक्तिराष्ट्र चीनले सन् २०२६ फेब्रुअरीमा नेपालस्थित चीनको राजदूतमा झाड. माओमिड.लाई पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।