काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा लगानीको वातावरण सुधार, रोजगारी सिर्जना र निजी क्षेत्रका समस्या समाधानका विषयमा उद्योगी–व्यवसायीसँग करिब दुई घण्टा छलफल गरेका छन्।
छलफलमा स्वदेशी लगानी विस्तार, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्ने उपाय, रोजगारी सिर्जना तथा व्यवसाय सञ्चालनमा देखिएका नीतिगत र व्यावहारिक समस्या मुख्य रूपमा उठेका थिए।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर र सम्भावना के-के छन् तथा ती अवसरलाई परिणाममा बदल्न सरकारको तर्फबाट के कस्ता कदम चाल्नुपर्छ भन्ने विषयमा सोधेको बताए ।
बैठकमा निजी क्षेत्रका प्रतिनिधिले लगानीको दायरा फराकिलो बनाउन, रोजगारीका अवसर बढाउन, पूर्वाधार निर्माणलाई तीव्रता दिन तथा राजस्व संकलन बढाउने वातावरण बनाउनुपर्ने सुझाव दिएका थिए।
जलविद्युत्, पर्यटन तथा औद्योगिक र व्यापारिक क्षेत्रमा देखिएका नीतिगत झन्झट हटाउन पनि निजी क्षेत्रले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। उद्योगी–व्यवसायीका सुझाव सुनेपछि प्रधानमन्त्री शाहले समस्यालाई सरकारले सहज रूपमा समाधान गर्ने प्रतिबद्धता जनाएको ढकालले जानकारी दिए।
छलफलमा चीनसँगको व्यापारलाई सहज बनाउने विषयले पनि प्राथमिकता पाएको थियो। निजी क्षेत्रले रसुवा नाकालाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेको थियो।
व्यापारिक गतिविधि र आपूर्ति प्रणालीलाई सहज बनाउन रसुवा नाका सञ्चालनलाई उच्च प्राथमिकता दिनुपर्ने निजी क्षेत्रको मागमा प्रधानमन्त्री शाह सकारात्मक रहेको ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।