काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक बसेको छ। पार्टीको मुख्यालय च्यासलमा अहिले बैठक जारी छ।
आजको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।
महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमाथि ओलीले असन्तुष्टि जनाउँदै बादललाई पुनर्लेखन गर्न निर्देशन दिएका थिए।
सबै प्रदेशबाट प्राप्त सुझावलाई समेटेर यसअघि महासचिव पोखरेलले तयार गरेको प्रतिवेदन ओलीले आफू अनुकूलको प्रतिवेदन नआएपछि पुनः त्यसलाई सच्याउन भन्दै बादललाई नेता प्रदीप ज्ञवालीले सहयोग गर्ने गरी जिम्मा दिएका थिए।
शंकरले ल्याएको ६५ पेजको प्रतिवेदन सम्पादन गरेर बिहीबार बादलले ३९ पृष्ठको प्रतिवेदन तयार गरेको सार्वजनिक भएको छ । आजको कार्यदल बैठकमा दुवै प्रतिवेदन पेश हुने र त्यसमाथि छलफल हुने जनाइएको छ।
कार्यदलमा शंकर पक्षका सदस्यहरूले पहिलेकै प्रतिवेदनमाथि छलफल गरेर जानुपर्ने पक्षमा छन्। पोखरेल पक्षधर नेताहरू नेतृत्वबाट ओलीले बिदा लिनुपर्ने पक्षमा छन्। तर बादलको प्रतिवेदन ठिक उल्टो आएको छन्।
दुई प्रतिवेदनको विवादले पेचिलो बन्ने बैठकमा अध्यक्ष केपी ओली भने सहभागी छैनन्। उनी यसअघिको बैठकमा सहभागी हुँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।