काठमाडौं– वीर अस्पतालका न्युरोसर्जनहरूले एउटै शल्यक्रियात्मक पहुँचबाट मस्तिष्कका दुवै पक्षमा रहेका ६ वटा ‘एन्युरिज्ममा क्लिप’ लगाउन सफल भएका छन्।
४७ वर्षीया महिलामा गरिएको यो जटिल शल्यक्रिया करिब सात घण्टामा सफलतापूर्वक सम्पन्न भएको हो।
मस्तिष्कमा रक्तस्राव भएपछि वीर अस्पताल ल्याइएकी ती महिलाको परीक्षणका क्रममा दुवै पक्षमा गरी सातवटा एन्युरिज्म रहेको पत्ता लागेको थियो। तीमध्ये बायाँतर्फ तीन, अगाडिका दुई प्रमुख रक्तनली जोडिने स्थानमा दुई तथा दायाँतर्फ दुई एन्युरिज्म पहिचान भएको अस्पतालले जनाएको छ।
सामान्यतया मस्तिष्कका दुवै पक्षमा रहेका एन्युरिज्मको उपचारका लागि छुट्टाछुट्टै शल्यक्रियात्मक पहुँच आवश्यक पर्न सक्छ। तर वीर अस्पतालका न्युरोसर्जनहरूले बायाँतर्फबाट एउटै पहुँच बनाएर दुवै पक्षमा रहेका ६ वटा एन्युरिज्ममा क्लिप लगाएका हुन्।
‘सामान्यतया मस्तिष्कका दुवै पक्षमा रहेका एन्युरिज्मको उपचारका लागि छुट्टाछुट्टै शल्यक्रिया गर्नुपर्ने हुन्छ। तर एउटै पहुँचबाट दुवै पक्षका ६ वटा एन्युरिज्ममा क्लिप लगाउन सफल भएका छौं,’ अस्पतालले जनाएको छ।
विशेषगरी दायाँतर्फ रहेका एन्युरिज्ममा समेत बायाँतर्फबाटै पुगेर क्लिप लगाउनु शल्यक्रियाको मुख्य विशेषता रहेको चिकित्सकहरूले बताएका छन्।
करिब सात घण्टा चलेको शल्यक्रियाको नेतृत्व प्रा. डा. राजीव झाले गरेका थिए। टोलीमा डा. नम्रता खड्का र डा. योगेन्द्र देवकोटा सहभागी थिए।
बाँकी रहेको सातौं एन्युरिज्मको उपचार भने रक्तनलीभित्रबाट गरिने विधिमार्फत गर्ने योजना रहेको अस्पतालले जनाएको छ।
एन्युरिज्म फुटेर मस्तिष्कमा रक्तस्राव हुनु गम्भीर चिकित्सकीय अवस्था हो। यस्तो अवस्थामा बिरामीको ज्यान जाने तथा दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुने जोखिम उच्च हुन्छ।
शल्यक्रियापछि बिरामी पूर्ण रूपमा होसमा रहेको र हाल कुनै स्नायुसम्बन्धी कमजोरी नदेखिएको अस्पतालले जनाएको छ।
बेहोस बनाउने तथा शल्यक्रियामा सहयोग गर्ने चिकित्सक टोलीमा डा. अजय चौधरी, डा. तिलक देवकोटा, डा. मनोज बिष्ट, डा. ल्हाक्पा त्सेरिङ शेर्पा, डा. आर्यन यादव, डा. ऋतु प्रधान, डा. सन्दीपकिरण प्रधान र डा. गौरव रत्न बज्राचार्य सहभागी थिए। नर्सिङ टोलीमा सिन्धु गौतम, अस्मी मगर र यज्जु मानन्धर सहभागी थिए।
वीर अस्पतालको न्युरोसर्जरी टोलीले यसअघि पनि यही प्रविधिबाट नौ जना बिरामीमा सफलतापूर्वक एन्युरिज्म क्लिपिङ गरिसकेको जनाएको छ।
एउटै शल्यक्रियात्मक पहुँचबाट मस्तिष्कका दुवै पक्षमा रहेका ६ वटा एन्युरिज्ममा सफल क्लिपिङ हुनु नेपालमा जटिल मस्तिष्क तथा रक्तनलीसम्बन्धी शल्यचिकित्साको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।