काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली उपभोक्तालाई विदेशी स्याउको सट्टा स्वदेशमै उत्पादित स्याउ प्रयोग गर्न आग्रह गरेका छन्। जुम्लाको स्याउको स्वादको प्रशंसा गर्दै उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
चन्दननाथ बहुउद्देश्यीय सहकारीका अध्यक्ष ऋषिराम पाण्डेलाई जुम्लाको स्याउ उपलब्ध गराएकोमा धन्यवाद दिँदै भट्टराईले सामाजिक सञ्जालमा नेपालले ठूलो परिमाणमा कृषिजन्य वस्तु आयात गरिरहेको अवस्थाप्रति प्रश्न उठाएका छन्।
उनका अनुसार नेपालले गत वर्ष करिब ४ खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरेको थियो। त्यसमा फलफूलको आयात २१ अर्ब रुपैयाँ बराबर रहेको र स्याउमा मात्रै १० अर्ब ५५ करोड रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन्।
भट्टराईले एकातिर जुम्ला, हुम्ला, मुस्ताङ र मनाङलगायतका जिल्लामा उत्पादित स्वदेशी स्याउले बजार नपाइरहेको र अर्कोतिर विदेशी स्याउ आयात भइरहेको अवस्थालाई विरोधाभासपूर्ण बताएका छन्।
‘एकातिर जुम्ला, हुम्ला, मुस्ताङ, मनाङ लगायतका स्वदेशमै उत्पादित स्याउले बजार पाइरहेका छैनन् भने अर्कोतिर हामी हाम्रै छोराछोरीले खाडीको गर्मीमा पसिना बेचेर पठाएको रेमिटेन्स खर्चेर विदेशी स्याउ भित्र्याइरहेछौं,’ उनले भनेका छन्।
उनले देशलाई समृद्ध बनाउन राजनीतिसँगै अर्थनीतिमा पनि आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। राज्यले खाद्यवस्तु र ऊर्जामा आत्मनिर्भर हुने नीति लिनुपर्ने तथा नागरिकले सकेसम्म स्वदेशी उत्पादन प्रयोग गर्ने बृहत् राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा छ।
भट्टराईले आफू प्रधानमन्त्री रहेकै समयदेखि स्वदेशमै उत्पादित जुत्ता प्रयोग गर्ने अठोट गरेको र त्यसलाई निरन्तरता दिँदै आएको बताएका छन्। औपचारिक कार्यक्रममा स्वदेशमै बनेको अल्लोको कोट–पाइन्ट लगाउने अठोटसमेत गरेको उनले उल्लेख गरेका छन्।
स्वदेशी स्याउको प्रयोग बढाउन आग्रह गर्दै भट्टराईले भनेका छन्, ‘हामी सबैले कमसेकम किनेर खाँदा स्वदेशी स्याउ मात्रै किन्ने गरे कसो होला?’
जुम्लाको स्याउ काठमाडौंमा समेत बिक्रीका लागि ल्याइएको छ। भट्टराईका अनुसार जुम्लाको स्याउको काठमाडौं वितरण केन्द्र भद्रकालीमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।