सिरहा– नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको बताएका छन्। उनले अहिलेको सत्ता नेपाली जनताको हातमा नरहेको दाबी गर्दै देशलाई जनताको हातमा फर्काउन ठूलो राजनीतिक मोर्चा र आन्दोलन आवश्यक रहेको बताए।
बिहीबार सिरहाको मिर्चैयामा आयोजित कार्यक्रममा प्रचण्डले भदौ २३ र २४ गतेको आन्दोलनपछि राजनीतिक अवस्था थप जटिल बनेको बताए। संविधान, लोकतन्त्र र जनताको अधिकारमाथि चुनौती बढेको उनको भनाइ थियो।
‘अहिले नेपाल हाम्रो हातमा छैन, अर्कैको हातमा छ,’ उनले भने, ‘नेपाल नेपालीको हातमा फर्काउन एउटा ठूलो मोर्चा र आन्दोलन आवश्यक छ।’
नेपालको भविष्यबारे बाह्य शक्तिको प्रभाव बढेको दाबी गर्दै उनले फेरि अर्को राजनीतिक दुर्घटना हुन सक्ने आशंकासमेत व्यक्त गरे। ‘नेपाल राष्ट्र रहने हो कि होइन भन्ने चिन्ता नेपाली जनताको मनमा पैदा भएको छ,’ उनले भने।
भदौ २४ पछिको सरकार गठन संविधानविपरीत भएको र संसद् विघटनसमेत गर्न नहुने अवस्थामा गरिएको प्रचण्डको आरोप छ। उनले भदौ २४ लाई आफ्नो पार्टीले ‘कालो दिन’का रूपमा लिएको बताए।
संविधानको अवस्थालाई ‘भेन्टिलेटरमा रहेको बिरामी’सँग तुलना गर्दै उनले यसको रक्षा अहिलेको मुख्य चुनौती भएको बताए।
संविधान, लोकतन्त्र, संघीयता, न्याय र सुशासनका लागि वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै प्रचण्डले एमाले र मसालसँग कार्यगत एकताको प्रक्रिया अघि बढेको बताए। अन्य वामपन्थी शक्ति तथा शान्ति प्रक्रिया र संविधान निर्माणमा सहकार्य गरेको नेपाली कांग्रेससँग समेत सहकार्यबारे छलफल भइरहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।