काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले जेन जेड आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
उनले वर्तमान सरकार निर्माणमा आन्दोलनको भूमिका रहेको उल्लेख गर्दै आन्दोलनकारीलाई बेवास्ता गरिए त्यसको राजनीतिक परिणाम आउन सक्ने चेतावनीसमेत दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले भदौ २३ र २४ गतेका घटनालाई राजनीतिक परिवर्तनको महत्वपूर्ण चरणका रूपमा व्याख्या गरे। भदौ २३ गते भएको दमनपछि भदौ २४ गते आन्दोलन चर्किएको उल्लेख गर्दै उनले त्यस क्रममा पक्राउ परेकाहरूलाई लामो समयसम्म थुनामा राख्न नहुने धारणा राखे।
उनले आन्दोलनका क्रममा उठेका युवाहरू अहिले कारागारमा रहेको भन्दै उनीहरूलाई सरकारले तत्काल रिहाइको प्रक्रिया अघि बढाउनुपर्ने बताए। आन्दोलनकारीकै योगदानबाट वर्तमान सरकार शक्तिशाली बनेको उनको दाबी थियो।
सरकारले आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइबारे स्पष्ट निर्णय गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। आन्दोलनकारीलाई बिर्सिएमा उनीहरूबाटै सरकारविरुद्ध प्रतिरोध हुन सक्ने र जनविश्वास पुन:प्राप्तिका लागि सरकारलाई चुनौती आउन सक्ने उनको चेतावनी थियो।
शर्माले जेन जेड आन्दोलनलाई सामान्य राजनीतिक घटनाका रूपमा मात्र नहेरी त्यसका कारण र त्यसले उठाएका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारलाई आग्रह गरे। कारागारमा रहेका आन्दोलनकारीप्रति संवेदनशील बन्नुपर्ने र उनीहरूको रिहाइलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
उनले विगतका सत्ताकेन्द्रबाट भएका गतिविधि र आन्दोलनको पृष्ठभूमिलाई समेत स्मरण गराउँदै सरकारलाई जनआकांक्षाअनुसार काम गर्न आग्रह गरेका छन्।
आन्दोलनका क्रममा उठेका माग र त्यसबाट सिर्जित राजनीतिक परिस्थितिलाई सम्बोधन नगरे सरकारप्रतिको विश्वासमा थप प्रश्न उठ्न सक्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।