काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सरकारबाट भोटेकोसी बाढीप्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम भइरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा महाविपत्को क्षति ठूलो भएकाले अझै काम प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए ।
‘जनशक्ति, उपकरण र स्रोत साधनसहित परिचालन गर्न आवश्यक देखिएको छ । बेपत्ता, उद्धार भएका र मृतकको प्रमाणित विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पुग्ने गरी प्रेषित गर्न र विपतमा फसेको र पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउने व्यवस्था गर्न सके उचित हुने थियो । संयन्त्र, उपकरण र दक्ष जनशक्तिको व्यवस्थासहित खोज उद्धार कार्यलाई अझ तीव्र बनाइयोस्,’ उनले भने ।
भेटिएका शवहरूको तत्काल डीएनए परीक्षण र पहिचान गर्न थप जनशक्ति, उपकरण र स्रोत साधनसहित प्रभावकारी पहल गर्न बुर्लाकोटीले माग गरे ।
‘विपत्पश्चात्काे पुनर्निर्माण सम्बन्धमा आगामी दिनमा बाढीपहिरो जस्ता जोखिमयुक्त क्षेत्रमा बस्ती, सार्वजनिक कार्यालय, संरचना निर्माण नगरियोस्,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।