काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने आफ्ना पार्टीका जोकोहीलाई तत्काल साधारण सदस्यबाट समेत निष्कासन गर्ने चेतावनी दिएका छन्।
सँगै उनले पछिल्लो बाढीपहिरो केवल प्राकृतिक प्रकोप नभई ‘जलवायु अन्याय’ को नतिजा भएको ठहर गर्दै संसद्बाट ‘हिमाली जलवायु तथा विपद् आपत्काल’ सम्बन्धी विशेष प्रस्ताव पारित गर्न माग गरेका छन्।
बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै लामिछानेले विपद्मा सर्वस्व गुमाएका नागरिकले राज्यसँग आक्रोश पोख्नु स्वाभाविक र उनीहरूको नैसर्गिक अधिकार भएको बताए। नागरिकको चित्कार र पीडालाई गलत व्याख्या गर्दै सामाजिक सञ्जालमा ओठे जवाफ फर्काउने वा साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको उनले स्पष्ट पारे।
रास्वपाका कुनै पनि तहका सदस्य वा पदाधिकारी यस्ता अमानवीय कार्यमा संलग्न भएको पाइए तत्काल पार्टीबाट निष्कासन गरिने चेतावनी दिँदै उनले पार्टीलाई पीडित नागरिकलाई होच्याउने अन्ध-समर्थक नभई उनीहरूको आँसु पुछ्ने कार्यकर्ता चाहिएको धारणा राखे।
लामिछानेले भदौ १० को विपद्मा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका मृतक नभई ‘जलवायु अन्याय’ का पीडितका रूपमा स्वीकार गर्नुपर्ने बताए। विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले जलवायु संकटको चर्को मूल्य चुकाउनुपरेको भन्दै उनले यसलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्ने बताए। उनले संघीय संसद्का दुवै सदनबाट ‘हिमाली जलवायु तथा विपद् आपत्काल ’ सम्बन्धी विशेष प्रस्ताव पारित गरेर आसन्न संयुक्त राष्ट्रसंघको महासभा र कोप सम्मेलनमा नेपालको स्पष्ट अडान प्रस्तुत गर्न सरकारलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।