काठमाडौं– प्रतिपक्षी नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले रसुवा बाढीमा बेपत्ता भएका गृहजिल्ला दार्चुलाका पाँच जनाको अवस्था पत्ता लगाउनका लागि उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले १० भदौमा गएको बाढीमा परी दार्चुलाका पाँच जना सम्पर्कविहीन भएको जानकारी संसद्लाई दिँदै उनीहरूको उद्धारका लागि तीव्रता दिन सरकारसँग माग गरेका हुन् ।
सांसद ठगुन्नाले दार्चुलाको लेकम गाउँपालिका–४ निवासी नेपाली सेनाका सहसेनानी देवसिंह धामी, दुहु गाउँपालिका–५ निवासी नेपाली सेनाका नायक विकासबहादुर ठकुरी, शैल्यशिखर नगरपालिका ८ निवासी भन्सार कार्यालयमा कार्यरत नरेशदत्त जोशी र अपर त्रिशूली १ मा कार्यरत जयनन्द जोशीको अवस्था अज्ञात रहेको बताए।
‘वेपत्ताहरूको अवस्था पत्ता लगाउन, उद्धार कार्यलाई तीव्रता दिन तथा उक्त घटनाका पीडितहरूको राहत, पुनर्स्थापना, खोजी कार्य द्रूत गतिमा सञ्चालन गर्न सरकारको गम्भीर ध्यानकर्षण गर्दछु,’ उनले भने ।
सांसद ठगुन्नाले दार्चुलाको अपीहिमाल गाउँपालिका–१ भट्टाडमा पहिरो जाँदा दर्जनौं स्थानीय बासिन्दा विस्थापित भएका पनि बताए । ‘विस्थापित परिवारहरूको पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गर्दछु,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।