काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको भक्तपुरको बालकोटस्थित आफ्नै निवासबाट आज सार्वजनिक सम्बोधन गर्ने भएका छन्।
एमाले निकट युवा संघ नेपालका नेता निरोज पौडेलका अनुसार अध्यक्ष ओलीले बालकोटस्थित जलेको घरबाट दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको सोही स्थानबाट ओलीले आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन्।
जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा तोडफोड, आगजनी तथा हिंसात्मक गतिविधि बढेपछि तत्कालीन प्रधानमन्त्री ओलीले गत वर्ष भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
राजीनामा दिएपछि ओलीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा लगिएको थियो। आन्दोलनका क्रममा बालकोटस्थित उनको निवासमा समेत आगजनी भएपछि घरमा ठूलो क्षति पुगेको थियो।
आन्दोलनपछि पहिलोपटक जलेको निवासबाटै सार्वजनिक सम्बोधन गर्न लागेकाले ओलीको आजको धारणा राजनीतिक रूपमा समेत चासोको विषय बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।