काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई कायम राख्दै जेनजीको सुशासनप्रतिको आशालाई मर्न नदिने प्रतिबद्धता जनाएका छन्।
जेनजी शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले लामिछानेले आफूलाई जिम्मेवारीमा पठाउँदा सुशासन कस्तो हुन्छ भन्ने देखाउन आग्रह गरेको बताए।
‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ, सुशासन के हुन्छ भनेर,’गुरुङले भने, ‘म त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु।’ गृहमन्त्री गुरुङले आफूलाई मन्त्रीका साथै नागरिकको दाइ, भाइ र छोराका रूपमा प्रस्तुत गर्दै देशमा फेरि गोली चल्ने अवस्था आउन नदिने दाबीसमेत गरे।
‘तपाईंहरूको यो मन्त्री, दाइ, भाइ, छोरा एउटै कुराले ढल्छ। त्यो भनेको अर्को गोली चल्नुपर्छ,’ उनले भने,’अर्को गोली चल्नका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन। म तपाईंहरूलाई विश्वास गराउन चाहन्छु।’
जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको पृष्ठभूमिमा गृह प्रशासनको नेतृत्व सम्हालिरहेका गुरुङले सुरक्षा र सुशासनलाई जोडेर उक्त प्रतिबद्धता जनाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।