काठमाडौं– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज भदौ २३ गते ‘जेनजी सहिद दिवस’ मनाइँदैछ। आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।
एक वर्षअघि यही दिन काठमाडौंका सडकमा हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौं युवा सडकमा उत्रिएका थिए। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन केही समयमै सरकारको कार्यशैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा तथा अवसरको असमानताविरुद्धको व्यापक असन्तुष्टिमा परिणत भएको थियो।
आन्दोलनका क्रममा युवाको मृत्यु भएपछि परिस्थिति थप तनावपूर्ण बनेको थियो। जेनजी पुस्ताले उठाएको आवाज सडकबाटै राष्ट्रिय बहसको विषय बनेको थियो।
एक वर्षपछि आज ती घटनालाई सम्झिँदै विभिन्न कार्यक्रममार्फत आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ। सरकारले पनि आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्मानमा सार्वजनिक बिदा दिएको छ।
जेनजी सहिद दिवसले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको योगदान र उनीहरूले उठाएका राजनीतिक तथा सामाजिक प्रश्नलाई पुनः स्मरण गराएको छ। आन्दोलनको एक वर्ष पूरा हुँदा त्यसले उठाएका मुद्दा सम्बोधन भए–नभएको विषयमा समेत बहस सुरु भएको छ।
जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ पुस्ताको सहभागिता र उनीहरूको अपेक्षालाई स्पष्ट रूपमा सतहमा ल्याएको थियो। आजको दिनलाई त्यस आन्दोलनमा ज्यान गुमाएका युवाको स्मरणसँगै उनीहरूले खोजेको परिवर्तनप्रतिको प्रतिबद्धता दोहोर्याउने अवसरका रूपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।