काठमाडौं– विनाशकारी बाढी तथा पहिरोबाट आफ्नै नेटवर्क र पूर्वाधारमा करिब ३ करोड ५० लाख रुपैयाँको क्षति व्यहोरेको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन्। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
बाढीबाट ठूलो क्षति भए पनि वर्ल्डलिंकले प्रभावित क्षेत्रमा इन्टरनेट सेवा लामो समय अवरुद्ध हुन नदिन तत्कालै प्राविधिक टोली परिचालन गरेको थियो। सडक, विद्युत् तथा अन्य पूर्वाधारमा समस्या हुँदासमेत कम्पनीले बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्क पुनर्स्थापना गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार विपद्को समयमा इन्टरनेट सेवा सूचना तथा सञ्चारको माध्यम मात्र नभई उद्धार, राहत र आपत्कालीन समन्वयका लागि समेत महत्वपूर्ण हुन्छ। त्यसैले सेवा निरन्तर राख्नुलाई पनि सामाजिक दायित्वकै रूपमा लिइएको वर्ल्डलिंकको भनाइ छ।
आफ्नै पूर्वाधारमा ठूलो क्षति हुँदाहुँदै गरिएको १ करोड १ लाख रुपैयाँको सहयोगले व्यवसायसँगै मानवीय र राष्ट्रिय उत्तरदायित्वलाई प्राथमिकता दिएको सन्देश दिएको कम्पनीले जनाएको छ। वर्ल्डलिंकले नेपाली नागरिकलाई ग्राहकका रूपमा मात्र नभई आफ्नो सामाजिक दायित्वसँग जोडिएको समुदायका रूपमा लिँदै आएको बताएको छ।
कम्पनीले विपद्का बेला निजी क्षेत्र, सरकार र नागरिकबीच सहकार्य आवश्यक रहेको भन्दै राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा समेत सहयोग जारी राख्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।