काठमाडौं–भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटको स्थलगत अनुगमनपछि राष्ट्रिय मानव अधिकार आयोगले उद्धार तथा राहत व्यवस्थापनमा कमजोरी नै कमजोरी रहेको औंल्याएको छ।
आयोगका सदस्य डा. लिली थापाको नेतृत्वमा गएको उच्चस्तरीय टोलीले गरेको अनुगमनका क्रममा प्रभावित क्षेत्रमा खानेपानी, विद्युत् र स्वास्थ्य सेवाजस्ता आधारभूत सुविधाको अभाव देखिएको जनाएको छ। त्यस्तै, उद्धार कार्यमा आवश्यक विज्ञ जनशक्तिको कमी, सुरक्षाकर्मीको न्यून उपस्थिति र उद्धार सामग्रीको अभावसमेत पाइएको आयोगले जनाएको छ।
बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेकाले प्रभावित नागरिकको दैनिक जीवनसमेत प्रभावित भएको आयोगको निष्कर्ष छ। यातायात तथा आवतजावत अवरुद्ध हुँदा सर्वसाधारणलाई थप समस्या परेको जनाउँदै आयोगले तत्काल वैकल्पिक यातायातको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
आयोगले खानेपानी, विद्युत् र स्वास्थ्य सेवा नियमित सञ्चालनका लागि आवश्यक प्राविधिक तथा विज्ञ टोली परिचालन गर्न भनेको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षाकर्मीको संख्या बढाउनुका साथै उद्धार टोलीलाई आवश्यक सामग्री पर्याप्त उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा बाढी प्रभावित नागरिकको मानव अधिकार संरक्षणका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।