काठमाडौं– रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एमभी दुगड समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
समूहका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले अर्थमन्त्रीमार्फत उक्त रकम बराबरको चेक कोषमा हस्तान्तरण गरेका हुन्। समूह तथा दुगड अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको समेत स्वेच्छिक आर्थिक सहयोग समेटेर रकम जुटाइएको जनाइएको छ।
समूहले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता भएकाहरूको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्राकृतिक विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको समूहले जनाएको छ। साथै, सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न संघसंस्थाले गरिरहेको उद्धार तथा राहत कार्यको प्रशंसासमेत गरिएको छ।
समूहले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण प्राकृतिक विपद्को जोखिम बढिरहेको भन्दै वातावरण संरक्षणलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। विसं २०७८ देखि देशव्यापी वृक्षरोपण अभियान सञ्चालन गर्दै आएको समूहले हालसम्म ३ लाखभन्दा बढी बिरुवा रोपिसकेको जनाएको छ।
राजमार्ग, विद्यालय, हरित कार्यालय तथा सशस्त्र सुरक्षा निकायका कार्यालय परिसरमा समेत फलफूलसहितका २५ हजारभन्दा बढी बिरुवा रोपेर संरक्षण गरिएको समूहको भनाइ छ। आगामी दिनमा पनि वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समूहले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।