काठमाडौं– नुवाकोटस्थित त्रिशूली-३ ‘बी’ हाइड्रोपावरको क्याम्पमा बाढीपछि बेपत्ता भएका नागरिकका परिवार तथा आफन्तहरूले खोज र उद्धार कार्य तीव्र बनाउन माग गर्दै काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
सोमबार काठमाडौँको माइतीघरमा भेला भएका पीडित परिवारहरूले बाढी आएको लामो समय बितिसक्दा पनि त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनमा सहभागी सुमन नयाँजूले भौगोलिक कठिनाइ र बाढीको व्यापकतालाई बुझ्न सकिने भए तापनि सरकारले पर्याप्त स्रोत-साधन परिचालन गर्न नसकेको गुनासो गरे।
उनले भने, “उद्धार कार्यलाई अझ सशक्त र तीव्र बनाउन हामी माइतीघर आउन बाध्य भयौँ। स्रोत र साधन उपलब्ध भएसम्म तत्काल प्रयोग गर्ने र नभए कहाँबाट ल्याउन सकिन्छ भनेर सरकारले सुरुदेखि नै पहल गर्नुपर्थ्यो।”
नयाँजूले उद्धार प्रक्रियामा सरकारी निकायबाट ढिलासुस्ती भएको आरोप समेत लगाए। “विभिन्न पक्ष र निजी क्षेत्रले उद्धारमा सघाउन खोज्दा पनि सुरुका ६-७ दिनसम्म सरकारले अनुमति दिएन,” उनले भने, “सातौँ दिनमा आएर मात्रै निजी क्षेत्रलाई बाटो खोलियो। पहिलो दिनदेखि हुनुपर्ने काम एक हप्तापछि सुरु हुँदा निकै ढिला भइसकेको छ।”
बाढी आएको लामो समय बितिसक्दा पनि आयोजनास्थलमा कामले गति लिन नसकेको उनले बताए। “१० गते बाढी आएकोमा भदौ २२ गते भइसक्दा पनि त्रिशूली-३ ‘बी’का पुरिएका भवन, आवास र कार्यालयहरू पन्छाउने काम ५ प्रतिशत पनि भएको छैन,” उनले थपे।
अहिलेको परिस्थितिमा सरकारलाई मात्र दोष दिएर बस्नुभन्दा बेपत्ताहरूको उद्धारमा प्राथमिकता दिनुपर्ने उनले बताए। सुरक्षा निकायले कतिपय स्थानमा सराहनीय काम गर्दै जीवितै उद्धार समेत गरेको स्वीकार गर्दै उनले बाँकी क्षेत्रमा पनि उपलब्ध प्रविधि, जनशक्ति र स्रोतको अधिकतम प्रयोग गर्न अपिल गरे।
साथै, खोजी तथा उद्धार अभियानमा पीडित र बेपत्ताका परिवारलाई समेत सहभागी गराएर अघि बढ्न उनले सरकारसँग आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।