काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद्का बेला आफ्नै स्रोत, साधन र जनशक्ति प्रयोग गरी सूचना प्रसार गरेको विषयमा नेपाल लाइभमा प्रकाशित समाचारप्रति पार्टी नेता प्रमोद न्यौपानेले स्पष्टीकरण दिएका छन्।
नेपाल लाइभले ‘के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो?’ शीर्षकमा समाचार प्रकाशित गरेपछि पार्टीका केन्द्रीय सदस्यसमेत रहेका नेता न्यौपानेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
न्यौपानेले रास्वपाले समाचार बुलेटिन सञ्चालन नगरेको दाबी गर्दै आफूहरूले ‘सूचना प्रसार’ मात्र गरेको बताएका छन्। सूचना प्रसार कसैको ठेक्का नभई सबैको दायित्व भएको उनको भनाइ छ।
रास्वपाको नेतृत्वमा रहेको सरकारले गरेका कामको तथ्यसहित प्रतिरक्षा गर्नु तथा ती कामबारे जनस्तरमा जानकारी गराउनु पार्टीको स्वाभाविक राजनीतिक दायित्व भएको न्यौपानेले बताएका छन्।
त्यसैगरी, देश तथा विदेशमा रहेका पार्टीका सदस्य र शुभेच्छुक, विशेषगरी रास्वपाको डिजिटल सञ्जालमा जोडिएका व्यक्तिलाई सूचित गराउनु पनि पार्टीको सांगठनिक दायित्व भएको उनले उल्लेख गरेका छन्।
‘चासो र चिन्ता राख्ने सबैलाई एक–एक गरी सूचना प्रसार गर्न/गराउन सम्भव थिएन/छैन,’ न्यौपानेले भनेका छन्।
विपद्को समयमा रास्वपाले आफ्नै स्रोत–साधन र जनशक्ति प्रयोग गरेर सम्भव भएसम्मको प्रयास मात्रै गरेको उनको दाबी छ। त्यसलाई सञ्चारमाध्यमलाई ‘देखाउन’ खोजिएको प्रयासका रूपमा बुझ्न नहुने उनले बताएका छन्।
यस्तो प्रयास सही नियतका साथ जोसुकैले गर्न सक्ने भन्दै न्यौपानेले रास्वपाको कदमलाई अपराध गरेजस्तो गरी प्रस्तुत गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
‘रास्वपाले अपराध गरे झैं पो भइरहेको रै’छ, उफ्!’ उनले आफ्नो स्पष्टीकरणमा लेखेका छन्।
रास्वपाको यो स्पष्टीकरणसँगै विपद्का बेला राजनीतिक दलले आफ्नै माध्यमबाट सूचना प्रवाह गर्ने अभ्यास र त्यसले आमसञ्चारमाध्यमको भूमिकामाथि पार्ने प्रभावबारे बहससमेत सुरु भएको छ।
यो पनि पढ्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।