इनरुवा– पूर्वी पहाडी जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि भएको छ।
आइतबार राति ८:१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
पानीको बहाव बढेपछि कोशी ब्यारेजको मूल ५२ वटा र ४ वटा नहरको गरेर ५६ वटा ढोका मध्यै २७ वटा ढोका खुल्ला गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।
पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको र रातो झन्डा फहराइएको छ।
सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि कोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। नदीको पानीको सतह तथा बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले कोशी नदी आसपासका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउनका लागि आग्रह गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।