काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजेसम्म १ हजार ३ सय ५१ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये रसुवामा १ सय ६९, नुवाकोटमा १ सय ९६, धादिङमा ६९, चितवनमा ३ सय ६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २२ र नवलपरासी पश्चिममा २ सय २१ जना रहेका छन्।
शव पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ। हालसम्म १ हजार ४४ वटा शव व्यवस्थापन गरिएको छ। मृतकका १ हजार १ सय ८१ र आफन्तका १ हजार २ सय ३८ गरी कुल २ हजार ४ सय १९ वटा डीएनए नमुना संकलन गरिएको छ।
यसैगरी, पहिचान हुन नसकेका १ हजार २ सय ९३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीपछि बेपत्ता भएका ३ हजार ९ सय ९२ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार १ सय ९० जना राखिएका छन्। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने, विभिन्न निकाय तथा स्थानीयवासीको समन्वय र सहयोगमा उद्धार तथा खोजी गर्ने र अवरुद्ध सडक खुलाउने कामसमेत गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।